बीपी कोइराला र पुष्पलाल श्रेष्ठलाई सलाम



आधुनिक नेपालको राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसर पारेर देशभर यति बेला विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । बीपी र पुष्पलालले नेपाली राजनीतिमा दिएका योगदानबारे चर्चा÷परिचर्चा भएका छन् र उनीहरुको आदर्श जीवनबारे पनि विभिन्न कोणबाट व्याख्या भएका छन् । हरेक वर्षको साउनको पहिलो हप्ता यी दुई मुर्धन्य व्यक्तित्वको सम्झना गरिन्छ ।

बीपी कोइराला नेपाली कांग्रेसका सभापति मात्रै थिएनन्, समाजवादी आन्दोलनका विज्ञ र कुशल नेतृत्वकर्ता पनि थिए । राणा शासनविरुद्ध उनकै नेतृत्वमा भएको आन्दोलनबाट नेपालमा प्रजातन्त्र आएको हो । जनताले बोल्न पाएका हुन् र १ सय ४ वर्षको राणा शासनले बिदा लिएको हो । नेपाली साहित्यका एक उज्ज्वल नक्षेत्रको रुपमा पनि उनलाई बिर्सन सकिँदैन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको सिंगो जीवन संघर्षमा बित्यो । भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका यी नेताको नेतृत्वमा बनेको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ मात्रै गरेनन्, उनलाई जेलमा कोचे ।

जेल, निर्वासन र स्वदेश फिर्तीसँगै उनले प्रजातन्त्र अनि राष्ट्रियताको पक्षमा देखाएको निष्ठाको सम्झनाले मात्रै पनि हाम्रो मन पुलकित हुन्छ । उनी द्रष्टा थिए, उनले भूत र वर्तमानको आँकलन गर्दै सुन्दर भविष्यको सपना देख्थे । तर, उनले आफूले देखेको सपना पूरा गर्ने वातावरण दिइएन । देशको प्रधानमन्त्रीको रुपमा बिताएको थोरै समयमा पनि उनले देशको समृद्धिको लागि मनग्गे काम गरेका थिए । उनी बहुलवादमा विश्वास गर्थे । बहुदलीय प्रजातान्त्रिक समाजवादबाट नै देश समृद्ध बन्छ भन्ने मान्यता राख्थे । क्यान्सरका कारण उनले असमयमै जीवन त्यागे तर नेपाली मनहरुमा सधैँ राज गरिरहे ।

अर्कोतर्फ पुष्पलाल श्रेष्ठ वामपन्थी विचारधाराबाट दीक्षित थिए । वर्गीय मुक्ति र साम्यवादी आन्दोलनमार्फत समाजवादको यात्रा उनको सपना थियो । संसारभर फैलिएको वामपन्थी लहरमा उनी होमिएका थिए । उनी बीपीका समकालीन थिए । राणा शासनका विरोधी थिए र सम्मुन्नत समाजको कल्पना गर्थे । वर्गीय मुक्तिको नारासहित उनी पनि देश परिवर्तनको पक्षमा उभिएका थिए । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी उनले देशलाई राणा शासनबाट मुक्त गर्ने संकल्पन गरेका थिए । उनले २०१५ सालमा भएको बहुदलीय प्रतिस्पर्धामा भाग लिएका थिए ।

वर्गीय मुक्तिको लागि लडेका उनी सधैँ पञ्चायती तानशाहीको कोपभाजनमा परे । उनले जुन बाटो तय गरेका थिए, त्यही बाटो हिँडेकाले नै अहिले देशमा दुई तिहाइको कम्युनिस्ट सरकार छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित गराउन र देशमा कम्युनिस्ट सिद्धान्तको बीजारोपण गर्नमा उनको योगदान ठूलो छ । उनी त्यागमा प्रतिमूर्ति थिए । बीपी र पुष्पलाल दुवैले निष्ठाको राजनीति गरे । आफ्नो भन्दा राष्ट्रको हितलाई सर्वोपरि माने र जीवनपर्यन्त सम्झौतापरस्त नीति लिएनन् । जेल र निर्वासन सहे तर आफ्नो अडानबाट पछि हटेनन् ।

यति बेला पुष्पलालको विचारबाट प्रभावित कम्युनिस्टहरुको सरकार छ भने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल रहेको छ । दुवै दलले नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याउन ठूलो योगदान गरेका छन् । उनीहरु आर्थिक समृद्धिको नारा लगाउने मामिलामा पनि उस्तै छन् । तर, बीपी र पुष्पलालको जस्तो अडान र त्याग भने यी दलका नेता–कार्यकर्तामा देख्न पाइँदैन । देशमा गणतन्त्र आउँदा पनि उनीहरु सुध्रन नसकेको भान भएको छ । जनता निराश भएका छन् ।

यस्तो अवस्थामा बीपी र पुष्पलालको स्मृति दिवस मनाएर कर्मकाण्डी हुनुभन्दा उनीहरुको विचारको अनुशरण गर्ने व्यक्तिको आवश्यकता खड्किएको छ । व्यक्तिभन्दा राष्ट्र सर्वोपरि हो भन्ने मनन गर्नुपर्ने भएको छ । बीपी र पुष्पलाल देवता थिएनन् । उनीहरुका पनि मानवीय कमजोरी थिए । तर, अहिले उनीहरुलाई भगवान् बनाउने होड चलेको छ र उनीहरुकै नाम लिएर आफूलाई श्रेष्ठ बनाउने प्रवृत्ति बढेको छ । यो सरासर गलत काम हो । वास्तवमा उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भनेको आफैंले आफैंलाई हेरेर निष्ठामा अडिनु हो । दुवै नेताको स्मृति दिवसले नेता र दलका कार्यकर्तामा यति बुद्धि दियो भने त्यो नै स्मृति दिवस मनाएको सार्थकता हुन्छ ।
– भरत नेपाली, हालः काठमाडौं ।

अनेरास्ववियुको सिको गर्ने कि ?
नेपालमा रहेका अधिकांश विद्यार्थी संगठनले शैक्षिक गुणस्तरीयताको अवस्थाका बारेमा आवाज उठाउने भन्दा पनि आर्थिक सहयोगका रुपमा विद्यालयहरुसँग चन्दा माग्ने गरेका छन् । निजी शैक्षिक संस्थाहरुसँग आर्थिक सहयोग लिने क्रम बढ्दो भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त निजी शैक्षिक संस्थाहरुसँग कुनै पनि आर्थिक सहयोग नमाग्ने र नलिने नीति नै बनाएको छ ।

विद्यार्थी संगठनले विद्यार्थी आन्दोलनको मूल मर्मलाई बिर्सेर पैसामा रम्दा विद्यार्थीले पनि उनीहरुमाथि विश्वास गर्न छाडिसकेको अवस्था छ । सरकारी संस्थाहरुमा पनि आफ्ना कार्यकर्ताको भर्ना गर्ने लगायत संस्थाको विभिन्न कार्यक्रम सञ्चालनका लागि भन्दै पैसा उठाउने कार्यमा विद्यार्थी संगठन अग्रस्थानमा रहेको गुनासो आई नै रहेको छ ।

विद्यार्थीको हकहितका लागि भनेर स्थापना भएका राजनीतिक दलका भ्रातृ संगठनले शक्तिको आडमा निजी र सरकारी संस्थाहरुमा एकछत्र राज गरिरहेका छन् । संस्थामा शिक्षकको हेरफेर गर्नेदेखि अनैतिकरुपमा विद्यार्थी भर्ना गर्ने कार्यमा समेत विद्यार्थी संगठन लागिपर्ने गरेका छन् । विद्यार्थी संगठनले आगामी दिनमा आफू सच्चिएर विद्यार्थीको हकहितका लागि समर्पित हुन आवश्यक छ । निजी तथा सरकारी संस्थाहरुसँग आर्थिक सहयोग माग्दै आफ्नो गुजारा टार्नेभन्दा पनि समग्र शैक्षिक गुणस्तरीयताका लागि विद्यार्थी संगठनले आवाज उठाउन जरुरी छ । अतः विद्यार्थी संगठन पैसाप्रति आकर्षित हुनुहुँदैन र समग्र विद्यार्थीको हकहितका लागि अग्रसर हुनुपर्छ ।
– दीपक नेपाल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्