विप्लव माओवादीका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ


म्याग्दी, (नेस) ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका दुई नेता म्याग्दीबाट पक्राउ परेका छन् । तत्कालीन धवलागिरी व्युरो सदस्य हाल म्याग्दी इन्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सोमबार साँझ म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित नयाँपुलबाट पक्राउ गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो । म्याग्दी इन्चार्ज विकिरणको सानेभीर गाउँपालिका–२, रुकुम र जिल्ला सेक्रेटरी शाक्यको बानपा–३, बागलुङ ठेगाना रहेको छ ।

पक्राउ परेका नेताद्वयलाई म्याग्दी जिल्लाको स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधि, व्यापारी तथा सरकारी कर्मचारीलाई धम्क्याएर जबरजस्ती चन्दा असुली गर्ने गरेको प्रनाउ मरासिनीको भनाइ छ । यसैगरी गएको फागुन ११ गते राती म्याग्दीका ५ ओटा एनसेलको टावरमा भएको आगजनीमा समेत संलग्न भएको पाइएको उहाँले जानकारी दिनुभएको छ ।

पक्राउ परेका क्षेत्री र शाक्यको साथबाट एकवटा ध १ प २१७० नम्बरको यामाहा मोटरसाईकल र तीनवटा मोबाइल सेट बरामद गरिएको छ । उनीहरुमाथि अहिले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।