संवैधानिक निकाय सरकारको कठपुताली: सिटौला


रामचन्द्र विक, रामेछाप ।
नेपाली कांग्रेसका केन्द्रीय नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले संवैधानिक निकायहरुलाई आफ्नो कठपुताली बनाएको आरोप लगाउनुभएको छ । आफैंले बनाएको संविधानमाथि नै लात हान्दै स्वतन्त्र न्यायपालिकालाई समेत सरकारले आफ्नो नियन्त्रणमा लिएको आरोप पनि लगाउनुभयो ।

३७औं बीपी स्मृति दिवसमा बीपी कोइराला प्रतिष्ठान रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको ‘वीपी, न विगत न वर्तमान–एक अपूर्व विज्ञान’ विषयक विचार गोष्ठीमा बोल्दै नेता सिटौलाले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो– ‘अहिलेको सरकारले संवैधानिका निकायलाई पङ्गु बनायो, लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक आयोगलाई आफ्नो कठपुताली बनाएर बसेको छ ।’

उहाँल थप्नुभयो– ‘प्रेस स्वतन्त्रततामाथि अतिक्रमण हुन थाल्यो, उद्योग व्यवसायिक क्षेत्रमा दुःख दिन थालेको छ, कर्मचारी प्रशासनका मानिसहरुलाई पूरै राजनीतिककरण गरेर धम्क्याउने खेलमा अहिलेको सरकार लागेको छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेसका युवा नेता गुरुराज घिमिरेले अहिले पनि वीपीको इतिहासलाई सबैले सम्झिरहेको कुरा स्मरण गराउँदै अहिलेको काग्रेस नेतृत्वले अहिलेको युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरे वीपीको जस्तै ईतिहास बनाउन युवा पुस्ता लाग्ने बताउनुभयो । नेता घिमिरेले नेपाली काग्रेसलाई एक ढिक्का बनाएर अर्को निर्वाचनमा नेकपालाई धुलो चटाउने गरी अहिले देखिनै नेपाली काग्रेस लाग्नु पर्ने धाराण राख्नुभयो ।

कार्यक्रममा २०७५ सालको एसईई परीक्षामा रामेछापबाट उत्कृष्ट हुने विद्यार्थी र विभिन्न विषयमा विषयगत उत्कृष्टता हासिल गराउन सफल हुने शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । वीपी कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पार्टी सभापतिलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।