श्रावणको पहिलो सोमबार शिवमन्दिरमा भीड


भक्तपुर,(नेस) । श्रावणको पहिलो सोमबार केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तीर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको हो ।

मेलामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागि लाईनमा पालो कुरिरहेका थिए ।२०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा श्रावण १ गतेबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका प्रवक्ता तथा पूर्वअध्यक्ष बिदुरमानसिंह बस्नेतले जानकारी दिए ।शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्नु हुने उनले जानकारी दिए ।साउने पहिलो सोमबार भक्तपुरका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ ।

आशापुरी महादेव, साँगामा रहेको अग्लो शिव मूर्ति र दत्तात्रय लगायतका शिवालयमा बिहानैदेखि भक्तजनहरु लाइन बसेर दर्शन गरिरहेका छन् ।
साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् ।