विधेयक फिर्ता नलिए संसद् चल्न दिँदैनौंः देउवा


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रजातन्त्रमाथि प्रजातन्त्रमाथि प्रहार गर्न नछोडे आफ्नो पार्टी यसका विरुद्ध सडक संघर्षमा जान बाध्य हुने बताउनुभएको छ ।

वीपी स्मृति दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको भन्दै मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक फिर्ता नगरे संसद बैठक अवरुद्ध पारिने स्पष्ट पार्नुभएको हो ।

‘अहिले ल्याइएको मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोग सम्बन्धी विधेयकलाई काग्रेसले पास हुन दिँदैन’, सभापति देउवाले भन्नुभयो– ‘यो विधेयक फिर्ता नलिए संसद् चल्न पनि दिँदैनौ र सडकमा जान पनि बाध्य हुन्छौं ।’
कार्यक्रममा सभापति देउवाले वीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढेमा मात्र मुलुकमा समृद्धि आउने पनि बताउनुभएको थियो ।

सो कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले बीपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने भन्दै बीपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउनुभएको थियो ।