वासुदेव घिमिरे
नगर प्रमुख- तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि नगरको पूर्वाधार निर्माणको कामले गति लिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धनजस्ता नागरिकका अपेक्षालाई नगरपालिकाले अगाडि बढाएको छ । फरक अभ्यास, नयाँ कार्यको थालनीले यो नगरपालिका मुलुकमैं चर्चामा छ । आफूले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने सम्पूर्ण पारिश्रमिक सामुदायिक विद्यालयका गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्तिका रुपमा प्रदान गर्दै आउनुभएका नगर प्रमुख वासुदेव घिमिरेसँग नगरपालिकाले हालसम्म सम्पादन गरेका काम र योजनाका सन्दर्भमा नेपाल समाचारपत्रका बुटवल संवाददाता यमलाल भुसालले गर्नुभएको कुराकानीको सम्पादित अंश:
समग्र तिलोत्तमाको विकासका कामलाई कसरी काम अगाडि बढाउनुभएको छ ?
मुलुक संघीयतामा गइसकेपछि अहिले तीन तहका सरकार क्रियाशील छन् । हामीहरु स्थानीय सरकारमा रहेर काम गरेका छौं । कुनै पनि काम गर्दा ऐन, नियम, कानुन आवश्यक पर्ने भएकाले हामीहरुले सबैभन्दा पहिला स्थानीय कानुन निर्माण गर्यौं । तपाईंलाई थाहा भएकैं विषय हो कि स्थानीय कानुन निर्माण गरी त्यसको जानकारी संघीय र प्रदेश सरकारलाई गराउने तिलोत्तमा मुलुककैं पहिलो स्थानीय तह हो । यसबीचमा हामीले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी झन्डै पचासवटा स्थानीय कानुन निर्माण गरिसकेका छौं । यिनै कानुनअनुसार हामीहरुले भौतिक पूर्वाधार, शैक्षिक, सामाजिक विकासका विभिन्न कामलाई अघि बढाएका छौं । यसरी विकासका कामलाई अघि बढाउने सन्दर्भमा स्थानीय राजनीतिक दल, संघसंस्था तथा सरोकारवालाका रायसुझावसमेत लिने गरेका छौं ।
विशेष गरी कुन–कुन विषयलाई प्राथमिकतामा राखेर नगरको काम अगाडि बढाउनुभएको छ ?
हामीले सबैभन्दा बढी महत्व शिक्षालाई दिएका छौं । र, सरदर कुल बजेटको २५ प्रतिशतभन्दा बढी रकम शिक्षामा खर्च गरेका छौं । शिक्षामा सबैको समान पहुँच पुग्नुपर्छ र आर्थिक रुपमा कमजोर नगरबासीका छोराछोरीले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने स्पष्ट मान्यताका साथ हामीले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका काम अघि बढाएका छौं । हामीले ‘सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार ः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ कामलाई गति दिएका छौं । यसमा सबैको साथ, समर्थन प्राप्त भएको छ । शिक्षासँगै हामीले स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलाई महत्व दिएका छौं ।
शिक्षाको सन्दर्भमा यो अवधिमा के काम गर्नुभयो ?
सामुदायिक विद्यालयमा दिवा खाजा हामीहरुले सुरु गरेको नयाँ कार्यक्रम हो । नगरका सबै सामुदायिक बालविकास शिक्षाका बालबालिकाका साथै कक्षा ५ सम्मका अति विपन्न विद्यार्थीलाई निःशुल्क खाजाको व्यवस्था मिलाइएको छ । विद्यार्थीले विद्यालय खुलेको दिनमा २५ रुपियाँ बराबरको खाजा प्राप्त गर्छन् । कक्षा ५ सम्मका सबै विद्यार्थीलाई टिफिनकारीको व्यवस्था मिलाइएको छ ।
बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नुको साथै उनीलाई मन्टेश्वरी तालिम दिइएको छ । सबै सामुदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गरिएको छ । मावि तहसम्म सञ्चालनमा रहेका सामुदायिक विद्यालयलाई ई–हाजिरीको व्यवस्था मिलाइएको छ । बालकक्षालाई प्रभावकारी बनाउन आवश्यक विभिन्न सामग्रीका साथै हरेक विद्यालयमा कम्तीमा ३२ इन्चको टिभीको व्यवस्था गरेका छौं ।
बाल कक्षालाई अत्यन्त व्यवस्थित बनाइएको छ । दरबन्दी नभएका वा कम भएका सामुदायिक विद्यालयमा नगरपालिकाले तलब व्यहोर्ने गरी शिक्षक नियुक्त गरेका छौं । सबै सामुदायिक विद्यालयका प्रअहरुसँग कार्यसम्पादन करार गरिएको छ । नयाँ आर्थिक वर्षमा सबै सामुदायिक विद्यालयमा कम्पाउन्ड वाल लगाउने गरी बजेट विनियोजन गरेका छौं ।
यसबीचमा शिक्षामा केही सुधार भएको पाउनुभएको छ ?
हामीहरु सामुदायिक विद्यालयको विकासमा दत्तचित्त भएर लागेका छौं । एक वर्षको अवधिमैं केही आशातित परिणाम देखिएको छ । गत वर्षभन्दा यो वर्ष हाम्रो नगरपालिकाका सामुदायिक विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । यसले हामीलाई हौंसला मात्र प्रदान गरेको छैन सामुदायिक विद्यालयप्रति आमअभिभावक र विद्यार्थीको आकर्षण बढाएको पनि देखाएको छ । विद्यार्थी संख्या बढ्नु सामुदायिक विद्यालय सुधार अभियानले ल्याएको परिणाम हो भन्नेमा हामीहरु विश्वस्त छौं ।
वास्तवमा सामुदायिक र निजी विद्यार्थीको दूरी घटाउनुपर्छ भन्ने हामीहरुको प्रस्ट मान्यता छ । यहीँ मान्यतामा गत वर्ष पहिलोपटक नगरका सबै सामुदायिक विद्यालयहरुले निजी विद्यालयले जस्तै वसन्त पञ्चमीमा अक्षारम्भ कार्यक्रम संचालन गरी झन्डै पाँच सय विद्यालयलाई विद्यालय प्रवेश गराएका थिए । हाम्रा कतिपय सामुदायिक विद्यालयले निजीलाई समेत चुनौती दिइरहेका छन् । हाम्रो नगरका सामुदायिक विद्यालयहरु निजीजस्तै सशक्त हुँदै गएका छन् । हामीले यातायात सञ्चालन गर्न समेत विद्यालयलाई बजेट दिएका छौं । हामी गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा जानुपर्छ भन्ने देखाउन खोजेका छौं ।
–मुलुकमैं पहिलो पटक स्थानीय कानुन निर्माण
–सामुदायिक विद्यालयमा दिवा खाजा
–बिरामीलाई चाहिने रगतको सेवा भुक्तानी
–घर नक्साको सुविधा वडाबाटैं
–सुत्केरीलाई प्रोत्साहन भत्ता
–पशु बीमा अनुदान
–सडकमा बुद्धमुर्ति स्थापना
–सडक हरियाली र नियमित सरसफाइ अभियान
–प्लास्टिक झोला निषेधित अभियान
–असोज ९ र १० गते लगानी सम्मेलन
निर्वाचनको समयमा चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुभएका विषयमध्ये के–के पुरा गर्नु भयो ? अब बाँकी कहिले सम्म पूरा गर्नुहुन्छ ?
मैले प्रत्येक महिनाको एकपटक चुनावी घोषणापत्रलाई फर्केर हेर्ने गर्छु । यसरी हेर्दा निर्वाचनपछिको अवधिमा हामीले गरेका कामहरुको समीक्षा गर्दा केही उपलव्धि पक्कै हासिल भएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटनलगायतका क्षेत्रमा अहिले जति कामको थालनी गरेका छौं, ती पूरा गर्न सक्यौं भने तीन वर्षमै हामीले घोषणापत्रमा उल्लेखित विषयहरु पूरा गर्न सक्छौं ।
नगरपालिकाभित्रको सार्वजनिक जग्गा विभिन्न सामाजिक संघसंस्थालाई प्रदान गर्न सिफारिस गर्दा विवादमा पर्नुभएको छ नि ?
गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई गरिएको जग्गा सिफारिसका सन्दर्भमा केही साथीहरुले जनाएको असहमतिलाई तपाईंले विवाद भन्नुभयो जस्तो लाग्छ । यसलाई विवाद नै भन्न मिल्दैन होला । जग्गा अलि बढी सिफारिस गरियो कि भन्ने कतिपय साथीहरुको कुरा थियो । झट्ट हेर्दा त्यस्तो लागे पनि मुटु अस्पतालले दिने सेवा र भावी योजना तथा यहाँको आवश्यकतालाई समेत ध्यानमा राखेर हामीले जग्गाको सिफारिस गरेका हौं । अहिले यो विषयलाई सबैले बुझिसक्नुभएको छ ।
हामीले स्थानीय आवश्यकता, स्थानीय बासिन्दाको चाहना र विषयको गाम्भिर्यतालाई ख्याल गरेर मात्र जग्गाको सिफारिस गरेका छौं । यत्ति मात्र होइन नगरभित्रको सार्वजनिक जग्गालाई अतिक्रमणबाट जोगाउनुपर्छ भनेर त्यसको रेखाङ्कन गर्ने कामसमेत गरेका छौं । सार्वजनिक जग्गाको उचित संरक्षण, व्यवस्थापन र उपभोग गर्दै विकासका गतिमा नगरलाई अघि बढाउनुपर्छ, भावी सन्ततिलाई समेत सम्झेर जग्गाको बहुआयामिक प्रयोग गर्नुपर्छ भन्नेमा हामीहरु अत्यन्त सचेत छौं ।
मुलुककै नमुना मेयरका रुपमा चर्चा कमाउन लोकप्रिय काम गर्नुभएको छ भन्ने हल्ला सुनिएको छ । के–के हुन हजुरले गरेका त्यस्ता काम ?
चर्चा कमाउनैका लागि त काम गरे जस्तो लाग्दैन । तर काम गर्दै जाँदा चर्चा पाएको हुन सक्छ । हामीले केही फरक, नयाँ अभ्यास अवश्य गरेका छौं । ती अभ्यासहरु तपाईंले भने जस्तै चर्चामा पनि छन् । मुलुकमैं पहिलो पटक स्थानीय कानुन निर्माण, सामुदायिक विद्यालयमा दिवा खाजा, बिरामीलाई चाहिने रगतको सेवा भुक्तानी, घर नक्साको सुविधा वडाबाटैं, सुत्केरीलाई प्रोत्साहन भत्ता, पशु बीमा अनुदान, सडकमा बुद्धमूर्ति स्थापना, सिटी फ्लावर, कलर कोड निर्धारण, जन्मदिनमा वृक्षरोपण गर्न नगरबासीलाई आह्वान, सडक हरियाली, नियमित सरसफाइ अभियान, सार्वजनिक कार्यक्रम तोकिएकैं समयमा सुरु गर्नुपर्ने, सार्वजनिक कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याज निषेध, प्लाष्टिक झोला निषेधित अभियान हामीहरुले गरेका केही नमुना कामहरु हुन् ।
नगरको फोहोरमैलाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
नयाँ नगरपालिका भएकाले हामीकहाँ फोहोरमैला व्यवस्थापन दिनहुँ पेचिलो विषय बन्दै गइरहेको छ । तत्कालका लागि हामीले मुख्य बजार क्षेत्रबाट टे«क्टर, ट्रिपरमा फोहोर संकलन गरेर त्यसलाई तोकिएको ठाउँमा व्यवस्थापन गर्दै आएका छौं । यो काम कतिपय वडामा वडा कार्यालय आफैं र कतिपय वडामा विभिन्न संघ–संस्थाको सहकार्यमा हुँदै आएको छ । तर यो फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान होइन भन्ने हामीलाई थाहा छ । हामीले फोहोरलाई मोहोरमा बदल्नका लागि ठूलो परियोजनाको परिकल्पना गरेका छौं । यसका लागि केही संस्थाहरुले सहकार्यको प्रस्ताव पनि ल्याउनुभएको छ । तर ठोस कार्य प्रारम्भ हुन सकेको छैन । आसपासका अरु पालिकाहरुसँग पनि मिलेर एकीकृत फोहोरमैला व्यवस्थापनको काम गर्नुपर्छ कि भन्ने कुरा पनि आएको छ । जे होस् यहीँ वर्षमा हामीले फोहोरमैला व्यवस्थापनको नयाँ काम प्रारम्भ गर्नेगरी अघि बढेका छौं ।
नगरको गुरुयोजना बन्यो कि बनाउने चरणमा हुनुहुन्छ, गुरुयोजनामा के–के समेट्दै हुनुहुन्छ ?
हामी निर्वाचित हुनुअघि नैं नगरपालिकाले गुरुयोजना बनाउने जिम्मा एउटा संस्थालाई दिएको थियो । तर त्यो संस्थाले दिएको गुरुयोजना समयसापेक्ष नभएको ठहरपछि हामीले एकीकृत नगर विकास योजना बनाउने निर्णय लियौं । अहिले एकीकृत नगर विकास योजना निर्माण अन्तिम चरणमा छ । सो योजनामा नगरको सामयिक अवस्था, नगरस्तरीय ठूला योजना, विकासको मोडल, भावी रणनीतिलगायतका विषयलाई समेटिनेछ । हाम्रो नयाँ नगरपालिका भएकाले यहाँ बस्ती विकासको काम तीव्रताको साथ अघि बढेको छ । दैनिक यहाँ सरदर चारवटा नयाँ घर थपिन्छन् । त्यसैले भविष्यको सुन्दर शहर बनाउने हिसाबले योजना बनाउँदै छौं । हामीले चलाएका अभियानहरु पनि यहीँ केन्द्रित छन् ।
नगरमा विकराल समस्याका रुपमा रहेका छाडा चौपायको व्यवस्थापनलाई कसरी व्यवस्थापन गर्ने योजना बनाउनुभएको छ ?
छाडा चौपाया हाम्रो मात्र नभएर बुटवल, देवदह, सैनामैना, भैरहवा नगरपालिकाको साझा समस्या हो । छाडा चौपायाबाट दुर्घटना बढ्नुका साथै किसानले लगाएको बालीनालीमा समेत नकारात्मक असर पुगेको छ । यो समस्या समाधानका लागि हाम्रो नगरपालिकाका वडा नं. १ र ८ को वनक्षेत्रमा गौशाला स्थापना भएको हो । तर विभिन्न समस्याका कारण गौशालाले अपेक्षाकृत गति लिन नसकेपछि अहिले यसको व्यवस्थापनको जिम्मेवारी ईस्कोनलाई दिइएको छ । पछिल्लो समयमा गौशालाको व्यवस्थापन चुस्त भएको हामीले पाएका छौं ।
योसँगै नगरमा देखिएका छाडा चौपायालाई त्यहाँसम्म पुर्याउने व्यवस्था पनि मिलाएका छौं । केही समय हामीले अभियानात्मक रुपमा छाडा चौपाया नियन्त्रण अभियान पनि चलायौं । तर हाम्रैं किसानले पनि अनुत्पादन बस्तुभाउलाई सडकमा छाड्ने गर्नाले समस्या बल्झिएकाले त्यसलाई निरुत्साहित गर्न हामीले छाडा चौपाया नियन्त्रण कार्यविधि पनि बनायौं । कार्यविधिमा गाईबस्तु छाडा छोड्नेलाई जरिवाना समेतको व्यवस्था गरिएको छ । किसानहरुका पशु मर्दा वा अनुत्पादक हुँदा राहत होस् भनेर पशु बीमाको पनि व्यवस्था मिलायौं । यी सबै उपाय अवलम्बन गर्दै गर्दा हामीले पशुको लगत संकलन गर्ने र त्यसको अभिलेख वडामा राख्ने व्यवस्था पनि मिलाउँदैछौं । यस्तै बाहिरबाट आउने छाडा चौपायको व्यवस्थापनका लागि नाकामा कडाई गर्ने पनि गरेका छौं । यसरी सबै उपाय अवलम्बन गर्दा छाडा चौपायाको समस्या पहिलाभन्दा धेरै हदसम्म समाधान भएको छ । तर पूर्णतः अन्त्य हुन सकेको छैन ।
तिलोत्तमा कृषिको उर्वर भूमि पनि हो । कृषिको उत्थानमा कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
तिलोत्तमाको ६६ प्रतिशत भू–भागमा कृषि गरिन्छ । यसैले यहाँको उत्पादकत्व बढाउन हामीले विभिन्न योजना अघि सारेका छौं । यो वर्ष हामीले किसानलाई गहुँको बीउ र मकैंमा अनुदान दियौं । हामीले पशु बीमा र कृषि ऋणमा अनुदानको व्यवस्था मिलाएका छौं । पुष्प खेतीलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिएको छ । वडा नं. १४ लाई तरकारी, वडा नं. १७ लाई गहुँ र वडा नं. १२ लाई मकै पकेट क्षेत्र घोषणा गरी किसानलाई प्रोत्साहन मिल्ने विभिन्न कामहरु अघि बढाएका छौं । नयाँ आर्थिक वर्षदेखि हामीले दुग्ध उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्दैछौं्र । सिंचाईमा अनुदान दिएका छौं ।
पूर्वाधार विकासका ठूला कस्ता काम अघि बढाउनुभएको छ ?
हामीले केन्द्रीय प्रशासनिक भवन तथा अतिथि गृह बनाउँदै छौं । शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) परिसरमा दश तले भ्युटावर निर्माणको काम भइरहेको छ । तिलोत्तमा सभाहल निर्माणाधीन अवस्थामा छ । त्यसै गरी थप ६ वटा वडा कार्यालयहरु निर्माणको अवस्थामा रहेका छन् । व्यवस्थित सडकहरु पनि बन्दै छन् । नगरभित्रका सडकहरुको डिजिटल प्रविधिबाट अभिलेखीकरण भएको छ । व्यवस्थित सहरीकरणका लागि ‘ल्यान्डपुलिङ’ को काम हामीले अघि बढाएका छौं । जग्गा विकास तथा प्लटिङ सम्बन्धी मापदण्ड जारी गरी नगरपालिकाको पूर्व–स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाएका छौं । रणनैतिक महत्वका मुख्य सडकको राइट अफवे निर्धारण गरेका छौं । कृषि र आवास क्षेत्रलाई यकिन गरेका छौं । यसबाहेक ठूला विकास आयोजनाका लागि संघीय र प्रदेश सरकारलाई आग्रह गरेका छौं ।
अन्त्यमा नेपाल समाचारपत्र मार्फत् नगरवासीलाई केही भन्न बाँकी छ भने भन्नुहोस ?
सबै नगरबासीको साथ, सहयोग र समर्थनले तिलोत्तमा नगरपालिकाले छोटो समयमैं धेरै काम गर्न सफल भएको छ । यसले हामीहरुलाई हौंसला पनि मिलेको छ । हामीले सुरु गरेका अभियानमा सबैले साथ दिनुभएको छ । सबै नगरबासीप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु । हामी सबैको एउटै चाहना तिलोत्तमा नगरपालिकालाई राम्रो बनाउने हो । यसमा हामीहरु दत्तचित्त भएर लागेका छौं ।
यो अभियानमा म सदैंव रचनात्मक साथ र सुझावको अपेक्षा राख्छु । अन्तमा मानव स्वास्थ्य, पर्यावरण र शहरी सौन्दर्यमा प्रतिकुल असर पारेकाले तिलोत्तमा नगरपालिकामा साउन १ गतेबाट प्लास्टिकका झोला, गिलास, चम्चा, प्लेट निषेध गरिएको छ । नगरबासीलाई यो अभियानलाई सफल बनाउन हार्दिक अपिल गर्दछु । आउँदो असोज ९ र १० गते लगानी सम्मेलन आयोजना गरिएको हुँदा उक्त सम्मेलनको भव्य सफलताको लागि सबै क्षेत्रबाट सहयोग पु¥याइदिनुहुनसमेत आग्रह गर्दछु ।
प्रतिक्रिया