प्रभावकारी बन्दै सिसी क्यामेरा


मधुसूदन रायमाझी, काठमाडौं ।
काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै सिसी क्यामेराको फुटेजको आधारमा उपत्यकाभित्र प्रहरीले एक बर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ ।
उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेराको प्रयोगमा जोड दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘उपत्यका काठमाडौंको सबै नाकामा सिसी क्यामेरा जडान गरिएको छ, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पनि धमाधम उपत्यकाभित्र सिसी क्यामेरा जडानको काम भइरहेको छ ।’

काठमाडौँ, ललितपुर र भक्तपुरमा २१ हजार सिसी क्यामेरा

उपत्यकाभित्र एक वर्षको अवधिमा सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार र सडकको लेन उल्लघंन गर्ने ५ हजार जनालाई महानगरीय ट्राफिक महाशाखाले सिसी क्यामेराको फुटेजको आधारमा कारबाही गरेको छ ।
यसै गरी सवारी दुर्घटनाका २ सय ८६ र चोरीका १ सय २८ वटा घटनामा प्रहरीले सिसी क्यामेरको फुटेको आधारमा कारबाही गरेको छ । ९४ वटा सामान छुटेका घटनामा सिसी क्यामेराको फुटेको आधारमा सामान पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ भने ८७ वटा कुटपिटको घटनामा संलग्न दोषीको पहिचान गरी कारबाही गरेको छ ।

नियम तोड्ने १७ हजारमाथि कारबाही

सिसी क्यामेराको प्रयोगसँगै कम जनशक्तिले पनि धेरै काम गर्न सक्ने भन्दै प्रहरीले समुदायसँगको सहकार्यमा सिसी क्यामेराको जडानलाई बढाउँदै लगेको छ । प्रमुख प्रहरी नायव महानिरीक्षक क्षेत्रीले भन्नुभयो– ‘सिसी क्यामेराको कारण प्रहरीलाई धेरै घटनामा अनुसन्धान गर्न सहज भएको छ ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकामा पछिल्लो समयमा ३ सय ४३ वटा सिसी क्यामेरा जडान भएका छन् । उक्त कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले १ सय ६५ वटा स्थानमा सिसी क्यामेरा जडान गरिरहेको छ ।
हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाभित्र जडान भएका ५ सय ३६ वटा सिसी क्यामेराको मनिटरिङ गर्दै आएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएसँगै स्थानीय तहले सिसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गर्ने क्रम बढेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा जडान गर्नुपर्ने योजना अगाडि सारेको छ । प्रहरीले उपत्यकाभित्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन काठमाडौंमा ९ हजार १ सय १७, ललितपुरमा ६ हजार ३ सय ३९ र भक्तपुरमा ५ हजार ९ सय ८५ वटा सिसी क्यामेरा आवश्यकता रहेको रिपोर्ट तयार पारेको छ ।