मर्स्याङदी नदीमा अड्कीएका युवकको प्रहरीद्वारा जीवितै उद्धार  


लमजुङ । लमजुङको मर्स्याङदी नदीले बगाउँदै ल्याएको एक युवकको प्रहरीले जिवितै उद्दार गरेको छ । बेसीसहर नगरपालिका– ८, डम्पिङ साइटनेर मर्स्याङदीले बगाउँदै ल्याएका युवकलाई उद्दार गरी बचाउन सफल भएको प्रहरीले जनाएको छ ।

मर्स्याङदीले युवकलाई बगाएको खबर पाउनासाथ प्रहरीको उद्दार टोली खटिएको थियो । करिब ७० मिटर माथिबाट बगाउँदै ल्याएर ढुंगाको सहाराले अडिएर बसेको अवस्थामा प्रहरीले ती युवकको उद्धार गरेको प्रहरी निरीक्षक बसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार उद्दार गरिएका युवक बेसीसहर नगरपालिका– ११, चितीको तिलाहर गाउँ बस्ने बर्ष २४ को राजु पाण्डे रहेको खुलेको छ ।

सुस्त मनःस्थितिका पाण्डे मुख समेत बोल्न नसक्ने रहेछन् । उनलाई मर्स्याङदीले बगाएर ल्याएपनि गुहार माग्न सक्ने अवस्था रहेनछ प्रहरी निरीक्षक बसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार मर्स्याङदीले बगाउँदा समयमै खबर पाएको हुनाले सकुशल उद्दार गर्न सकियो । मर्स्याङदी नदीमा जानुको कारणबारे खुल्न नसकेको प्रहरीले बताएको छ । उहाँलाई आफ्ना दाजु उमाकान्त पाण्डेलाई जिम्मा लगाएर पठाएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

यसअघि गत असार महिनामा पनि मर्स्याङदी र खुदीको बाढीको कारण मर्स्याङदीमा फसेका चार जनालाई प्रहरीले उद्दार गरेको थियो ।