म्याद गुज्रन लागेका खाद्य सामग्री दुर्गममा पठाइने गरेको मेयरद्वारा खुलासा


लमजुङ । बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले एक दुई हप्ता म्याद बाँकी रहन थालेपछि त्यस्ता खाद्य सामग्री लेक तथा जिल्लाको दुर्गम क्षेत्रका बजारमा पठाइने गरेको आफूले थाहा पाएको बताउनु भएको छ । घरेलु तथा साना उद्योग विकास समितिले उक्त कार्यक्रमको आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रमको उदघाटन गर्र्दै मेयर आर्यालले त्यस्तो बताउनु भएको हो ।

सचेतना कार्यक्रमको उदघाटन गर्दै मेयर अर्यालले नगरपालिकाले गर्नु पर्ने धेरै काम मध्ये बजार अनुगमन र उपभोक्ताको हक अधिकारको प्रत्याभूति गर्नु पनि एक हो, तर यसमा नगरपालिकाले ध्यान दिन नसकेको छैन भन्नुभयो । अब नयाँ आवमा यो क्षेत्रमा काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो ।

उद्योग तथा साना उद्योग विकास समिति लमजुङले आयोजना गरेको उक्त कार्यक्रम प्रजिअ डा. डिजन भट्राईको अध्यक्षतामा गरिएको थियो । बजार अनुगमनको समेत जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयका प्रमुख तथा प्रजिअ भट्राईले बजार अनुगमन आफ्नो कार्यालयको काम नभएको भन्दै पन्छिनु भएको थियो । तर, दुई जना सहायक प्रमुख जिल्ला अधिकारी भएको जिल्लामा एक जना स्वतः बजार अनुगमन अधिकारी हुने राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष डम्बर अधिकारीले बताउनु भयो । लमजुङमा दुई जना सहायक प्रमुख जिल्ला अधिकारीले काम गर्न थालेको तीन वर्ष वितिसकेको छ ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष अधिकारीले लामो कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ताका हकअधिकार तथा उत्पादक र विक्रेताले गर्न हुने र नहुने बारेमा संविधान तथा ऐन कानुनले गरेका व्यवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले उपभोक्ताले खरिद गर्ने हरेक सामग्रीको उत्पादन मिति तथा मूल्य भए नभएको, मूल्य मनासिव भएनभएको आदि ख्याल गरी खरिद गर्नु पर्ने र अनिवार्य विल लिने बानी गर्नुपर्नेमा जोड दिनु भयो ।

उक्त अवसरमा आयोजक घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख मणिराम नेपालले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो ।