नेपालको लागानी क्षेत्रबारे स्पेनी व्यवसायीलाई ब्रिफिङ


दीपेन्द्र गजुरेल म्याड्रिड (स्पेन) ।  यूरोपेली मुलुक स्पेनबाट नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ यहाँका व्यवसायी र लगानीकर्तासँग अन्र्तक्रिया आयोजना गरिएको छ ।

म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको आर्थिक कुटनीति कार्यक्रम अन्र्तगत ‘लगानीका लागि नेपाल सुरक्षित गन्तव्य’ विषयक अन्र्तक्रियामा आइडीओएम, ग्रुपजेनजेन, मल्टिप्यानल, आइएफईएमए जस्ता चर्चित कम्पनीका प्रतिनिधी सहभागी भए ।

लगानी वोर्डका सिनियर डिभिजनल ईन्जिनियर सुनिल पौडेल तथा शाखा अधिकृत दिपिका सिटौलाले यहाँका व्यवसायीलाई नेपालमा लगानीका क्षेत्रबारे ‘ब्रिफिङ’ गर्नु भएको थियो । कार्यक्रममा एनआरएनए म्याड्रिडका अध्यक्ष सुजिल गोले तथा एनआरएनए यूरोप सहसंयोजक एकराज गिरी लगायतका पदाधिकारीको उपस्थिती थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले नेपालले राजनितिक संक्रमण पुरा गरेकाले अहिले लगानीका लागि उपयुक्त वातावरण बनेको बताउनुभयो । नेपालको औद्योगिक क्षेत्र र कलकारखानामा लगानी गरी नेपालमा उत्पादित वस्तु ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकमा निर्यात गर्न सकिने उहाँले उदाहरण दिनुभयो ।

लगानी वोर्डका प्रतिनिधि पौडेलले नेपालमा लगानी सम्बन्धी नियम कानूनमा गरिएको सुधारले लगानीमैत्री वातावरण बनेको बताउँदै भन्नुभयो–‘विदेशी लगानीकर्ताले लगानी र प्रतिफल सुरक्षित तवरले स्वदेशमा फिर्ता लान सक्ने अवस्था बनेको छ ।’ नेपालको जलविद्युतमा हुने लगानी पहिलो १० वर्षमा शतप्रतिशत तथा थप ५ वर्ष ५० प्रतिशत कर छुटको प्रावधान भएको उहाँले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बोलपत्र, बोर्डको शो केसमा रहेका परियोजना र प्रतिफलका विविध संभावनाबारे पौडेलले अवगत गराउनुभयो ।

उहाँका अनुसार यूरोपेली मुलुकका विभिन्न कम्पनीले नेपालको जलविद्युत क्षेत्रमा लगानी लागि चासो लिएका छन् । यही अवसरमा बोड टोलीले म्याड्रिड च्याम्बर अफ कर्मशका पदाधिकारीसँग पनि द्धिपक्षिय भेटवार्ता गरेको छ । म्याड्रिड च्याम्बरका अन्र्तराष्ट्रिय डेक्स नियाल्ने प्रबन्धक एस्टर क्याल्भो रुइज लगायतका पदाधिकारीसँग नेपाली टाोलीले छलफल गरेको हो ।

नेपाली दूतावासले गत मार्चमा पनि नेपालको लगानी प्रर्वद्दन गर्नको लागि म्याड्रिड च्याम्बर अफ कर्मशसँगको सहकार्यमा एक सेमिनार आयोजना गरेको थियो । नेपालले तय गरेको देशगत रणनीति अन्र्तगत पर्यटन प्रर्वद्दनलाई पहिलो प्राथमिकतामा राखिएको कार्यवहाक राजदूत पौडेलले बताउनुभयो । उहाँका अनुसार नेपालका परियोजनाका लागि आवहन गरिने अन्तर्राष्ट्रिय बोलपत्रबारे स्पेनिस कम्पनीलाई अवगत गराउने कामको थालनी भएको छ । लामो समयदेखि राजदूत पद रिक्त भएकाले फुटबलसहित अन्य क्षेत्रको द्धिपक्षिय सहकार्य अघि बढाउन व्यवहारिक कठिनाई भएको पौडेलको भनाई छ ।