बुद्ध मूर्ति तोडफोड कार्यमा संलग्नलाई कारबाही गर्न राप्रपाको माग


काठमाडौँ । सिद्धार्थ रार्जमार्गमा भएको बुद्ध मूर्ति तोडफोडको घटनाको विरोध गर्दै शुक्रबार राप्रपाले विज्ञप्ति जारी गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित सिद्धार्थ राजमार्ग छेउमा अज्ञात समुहद्वारा  बुद्धक मुर्ति माथि तोडफोड गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शान्ति, अहिंसा र ज्ञानका प्रतीक भगवान बुद्धको मुर्ति माथि भएको आक्रमणबाट राप्रपा स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आधुनिक समाजमा निर्जीव मुर्ति माथिको प्रहार लज्जास्पद मात्रै नभएर निन्दनीय र घृणित कार्य भएको हुदा राप्रपाले उक्त घटनाको घोर निन्दा र भत्सर्ना गरेको बताएको छ ।

राप्रपाले विज्ञप्तिमा विद्यमान सामाजिक, सांस्कृतिक सदभाव भड्काउने यस्ता कार्यमा संलग्न अपराधीलाई यथाशिघ्र पत्ता लगाई कानुन बमोजिम कडा कारबाही गर्न सरकारसंग माग गरेको छ ।