जगन्नाथ मन्दिरमा विकासका पूर्वाधार थपिँदै


प्रताप बानियाँ, म्याग्दी ।  धार्मिक तथा ऐतिहासिक महत्व एवं प्रचुर मात्रामा पर्यटनको सम्भावना बोकेको प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा विकासका पूर्वाधारहरु थपिँदै गएका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको जगन्नाथ मन्दिरमा पछिल्लो समय विभिन्न पूर्वाधारहरु निर्माण गरिएको हो ।

गत आर्थिक वर्ष २०७५/७६ मा सङ्घीय सरकारको पर्यापर्यटन कार्यक्रमको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत विभिन्न पूर्वाधारहरु बनाइएको जगन्नाथ मन्दिरले जनाएको छ । पुला–गाजने सामुदायिक वन उपभोक्ता समिति गाजनेको सक्रियतामा पर्यापर्यटनबाट प्राप्त कुल पाँचलाख रुपैयाँको लागतमा मन्दिर आसपासका क्षेत्रमा पछिल्लोपटक पूर्वाधारहरु थपिएको छ ।

 

मन्दिर परिसरमा महिला पुरुषको छुट्टाछुट्टै कोठासहितको शौचालय निर्माण गर्नुका साथै मन्दिर जानका लागि प्रवेशद्वार, सुरक्षा गर्न मन्दिर वरिपरी घेराबार तथा हराभरा बनाउन विविध प्रकारका विरुवाहरु रोपेर वृक्षारोपण गरिएको जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताए । पर्यापर्यटनबाट प्राप्त बजेटले मन्दिर दर्शन र पुजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनहरुको सेवा सुविधाका लागि आवश्यक भौतिक संरचना निर्माणको कार्यलाई जोड दिइएको उनले जानकारी दिएका छन् ।

धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित जगन्नाथ मन्दिरसहित जिल्लाको अन्य ठाउँमा पनि पर्यापर्यटन कार्यक्रम लागू गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । मन्दिर परिसरमा पोखराका भक्तजनहरुले जग्गा खरिद गरी तीर्थयात्री आवासका लागि धर्मशाला भवन समेत बनाइदिएका छन् ।

यसैगरी जगन्नाथ मन्दिर नजिकै रहेको पर्यटकीयस्थल केभहिल (गुफाको डाँडो)मा गत आर्थिक वर्षमा बेनी नगरपालिका र वडा कार्यालयको पाँचलाख रुपैयाँको आर्थिक सहयोगमा भ्यु–टावर निर्माण गरिएको छ । सोही ठाउँमा गत आवमै स्थानीयले मन्दिरमा आउने भक्तजन, पर्यटक र आफन्तजनको सुविधाका लागि हेलिप्याड निर्माण गरेका छन् । जगन्नाथ मन्दिर दर्शन गर्न पुग्ने भक्तजन तथा पर्यटकहरुलाई लक्षित गरेर भौतिक संरचना निर्माणमा जोड दिइएको छ ।

नेपालमा बाईसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औं शताब्दीताका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किम्बदन्ती रहेको छ । मन्दिर स्थापनासँगै राजा मल्ल सोही ठाउँमा अलप भएको हुँदा उनको समाधीस्थल समेत सोही ठाउँमा रहेको स्थानीय बताउँछन् । जगन्नाथ मन्दिरकै कारणले गर्दा गाजने गाउँमा कुखुरा, सुँगुर र बुंगुरपालन हुँदैन भने अवैध घरेलु जाँडरक्सी उत्पादन पनि निषेध गरिएको छ ।

जगन्नाथ मन्दिरभित्र भगवान् जगन्नाथसहित राम, लक्ष्मण, कृष्ण, बलराम, चतुर्वाहु, नृसिंह, गणेश र विष्णुका अवतार मूर्तिहरु सुरक्षित रहेका छन् । मन्दिरभित्र रहेका अधिकांश मूर्तिहरु धातुको सहायताबाट बनाइएको छ । प्रसिद्ध जगन्नाथ मन्दिरसम्म पुग्नका लागि बेनीदेखि गाजने गाउँसम्मै कच्ची मोटरबाटो पुर्याइएको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि ३ घण्टाको पैदलयात्रा र करिब डेढ घण्टाको सवारीसाधनबाट जगन्नाथ मन्दिर पुग्न सकिन्छ । बेनीको हुलाकचोकदेखि गुफा–पौलस्त्य–ढोलठान–जगन्नाथ हुँदै टोड्के भएर राउण्ड धौलागिरी ट्रेकिङ गर्न पदमार्ग पनि निर्माण थालिएको छ ।