खोलाले बगाएको तीन दिन पछि बालकको शव फेला


भद्रपुर । पौडी खेल्ने क्रममा झापाको विर्तामोड स्थित अदुवा खोलाले बगाएको एक बालकको शव तीन दिन पछि फेला परेको छ । मृत्यु हुनेमा खोटाङ जिल्ला जन्ते ढुङ्गा गाउँपालिका ५ घर भई हाल झापा बाह्रदशी गाउँपालिका ३ हर्कटे टोल स्थित तेज बहादुर मिश्रको घरमा डेरा गरी बस्ने ११ वर्षीय विजय खड्का रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार साथीहरूसँग पौडी खेल्न गएका बालक खड्कालाई अदुवा खोलाले मङ्गलबार दिउँसो बगाएर बेपत्ता बनाएको थियो । उनको शव सोही गाउँपालिका २ स्थित खोला किनारमा रुखको कापमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यता असार २७ गते हडिया खोलाले बगाउँदा मेचीनगर नगरपालिका १४ स्थित दुवागढी बस्ने ४५ वर्षीय सुकुल हाँस्दा अझै फेला परेका छैनन । भद्रपुर नगरपालिका ९ प्रणामी नगर फुलबासा स्थित हडिया खोला तर्ने क्रममा हाँस्दालाई खोलाले बगाउँदा बेपत्ता भएका थिए । हस्दाको खोजी कार्य भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।