हलेसी तुवाचुङको नगरसभामा जनप्रतिनिधिको असन्तुष्टि


रामधन राई, खोटाङ । खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा अलोकतान्त्रिक विधिवाट वजेट पारित गराईएको भन्दै ४ वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरसभाप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर ईवन राईले चौथो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र वजेटमा एकाधिकार जमाएको भन्दै ध्यानाकार्षण गराएका हुन् ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)वाट विजयी वडाध्यक्षहरुले पत्रकार सम्मेलन तथा विज्ञप्ती जारी गर्दै नगरप्रमुखले अन्य दललाई वेवास्ता गरी पारित गरेको ऐन, नियम तथा वजेटमा ध्यानकार्षण भएको उल्लेख गरेका हुन् । ११ वडा रहेको नगरपालिकाका २ नम्बर अध्यक्ष हरिकुमार खड्का, ३ नम्बरका भलाराज राई, ५ नम्वर वडाध्यक्ष रमेश तिवारी खत्री र ७ नम्वर वडाध्यक्ष चईन्द्र राईले २६ जना नगरसभा सदस्यको समर्थनमा विज्ञप्ती जारी गरेको स्पष्ट पारेका छन् ।

असन्तुष्ट पक्षले आर्थिक वर्ष २०७६/०७७ को टोलवस्ती हुँदै वडाले प्राथमिकीकरण गरी पेश गरेको योजनाहरुलाई नगरपालिकाले समावेश नगरी लोकतान्त्रिक विधिलाई अवमुल्यन गर्न खोजिएको विज्ञप्तीमा उल्लेख छ । स्थानीय सरकार सञ्चालन गर्दाको अवधीभर भएका विकास निर्माण कार्य, ऐन, नियम र नगरपालिकासँग सम्वन्धित आर्थिक बर्ष ०७४/०७५ को लेखा परीक्षण सार्वजानिक नगरिएको समेत विज्ञप्तीमा जनाईएको छ ।

उक्त वडाध्यक्षहरुले हस्ताक्षर गरेको विज्ञप्तीमा आर्थिक वर्ष ०७५/०७६ को वार्षिक प्रगति समीक्षा नगरिएको तथा हालसम्मको आन्तरिक राजस्व चुस्त दुरुस्त ढंगले नदेखाईएको उल्लेख छ ।

बिहीबार दिक्तेलवजारमा गरिएको पत्रकार सम्मेलनमा आफुहरुको माग सम्वोधन हुने नभएपछि नगरसभा वहिस्कार गरेको समेत जनाईएको छ । जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘नगरको तर्फवाट विभिन्न गैर जिम्मेवार र गैर कानुनी काम समेत हुँदै आएको कुरा जानकारी गराउँदछौं साथै सवै खाले गैर कानुनी र गतिविधिहरु वन्द गर्न समेत सचेत गराउँदछौं ।’

नगरसभामा नगरप्रमुखमार्फत ल्याईएका ऐन, नियम तथा वजेटप्रति नेपाल कम्यूनिष्ट पार्टीवाट निर्वाचित जनप्रतिनिधिहरु पूर्ण रुपमा असहमति रहेको भन्दै ध्यानाकार्षण गराईएको छ । माग पुरा नभए चरणबद्द आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिईएको छ ।
गर्दै नगरसभा बहिष्कार गरेको जानकारी गराएका छन्। मेयर इवन राईले भने वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोधको औचित्य नभएको बताउनुभएको छ ।

गत असार ३१ गते सम्पन्न चौथो नगरसभाले चालूतर्फ पाँच करोड ७८ लाख २६ हजार सात सय ५०, पुँजीगततर्फ १७ करोड ३४ लाख ८० हजार दुई सय ५०, वडागततर्फ तीन करोड १० लाख, नगर बजेटतर्फ १४ करोड २४ लाख ८० हजार दुई सय ५० लगायत बजेट पास गरेको थियो ।

नगर विकासतर्फको बजेटमध्ये विद्युत् विस्तारका लागि तीन करोड, सडक विस्तारका लागि दुई करोड ७० लाख, विपद व्यवस्थापन तथा खाद्यान्न वितरणका लागि एक करोड ४० लाख, पर्यटन प्रवद्र्धनका लागि एक करोड ६० लाख, शिक्षाका लागि ७३ लाख ५० हजार, समपूरक कोषमा एक करोड, कृषि तथा सिँचाइका लागि ३० लाख बजेट विनियोजन गरिएको मेयर राईले जानकारी दिनुभयो ।

यस्तै खानेपानीका लागि २० लाख, मर्मतसम्भारका लागि ५८ लाख ३० हजार दुई सय ५०, युवा तथा खेलकुदका लागि ४० लाख, महिलाका लागि ६० लाख, बालबालिकाका लागि सात लाख, ज्येष्ठ नागरिक तथा अपांगका लागि १४ लाख, दलितका लागि १० लाख वजेट विनियोजन गरिएको छ ।

आदिवासी जनजाति तथा भाषा साहित्यका लागि १० लाख, एकल महिलाका लागि १० लाख, वन वातावरणका लागि पाँच लाख, युवा उद्यमी तथा स्वयंसेवक परिचालनका लागि ३० लाख वजेट छुट्याईएको छ । वडा कार्यालय निर्माणका लागि २० लाख, स्वास्थ्यका लागि १० लाख, सवारीसाधन खरिदका लागि ३२ लाख, मेलमिलाप केन्द्र तथा तालिमका लागि १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।