पशुचौपाया निकासी कर : स्थानीय रुष्ट


विनोद सिंह विष्ट,बैतडी । बैतडीका विभिन्न स्थानीय तहहरुले पशुचौपाया निकासीमा कर लिन थालेका छन् ।

आफ्ना पालिका बाहिर व्यापारिक प्रयोजनका लागि पशुचौपायाहरुको निकासी गरेमा कर लिने गरेका दोगडाकेदार गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले बताउनुभयो । गाउँकार्यपालिकाले निर्णय गरेर गत वैशाखदेखि खसी बाख्रा र रांगा भैसीमा निकासी कर लिने गरेको उहाँले बताउनुभयो ।

खसीबाख्राको एकसय र रांगा भैंसीको ५ सयका हिसाबले कर लिने गरेको छ । अहिले सम्म पशुचौपया निकासीबाट ८८ हजार राजस्व संकलन भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।

जिल्लाभित्रै पनि निकासी कर लिन थालेपछि स्थानीयहरु भने रुष्ट बन्न थालेका छन् । जिल्लाभित्रैको कारोबारमा कर लिनु उचित नहुने स्थानीयहरुको भनाई छ ।

पञ्चेश्वर गाउँपालिकाले पनि पशुचौपायामा निकासी कर लिन थालेको छ । गाउँपालिकाबाट बाहिर निर्यात हुने र गाउँपालिकाभित्र व्यापार व्यवसायका भित्रिने पशुचौपायमा कर लिने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकाले खसी विक्रिबापत कर लिएपछि शिवनाथका विक्रम धनाडीले आवश्यक छलफल गरिदिन भन्दै गाउँपालिकामा निवेदन समेत दिनुभएको छ । पञ्चेश्वर गाउँपालिका वडा नम्वर ३ बाट ६ ओटा खसी खरीद गरेको भन्दै वडा कार्यालयले छ सय कर लिएको धनाडीले बताउनुभयो ।

वडा कार्यालयले गाउँसभाकै निर्णय अनुसार कर लिएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले बताउनुभयो । यो बिषयमा शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदलाई सोध्दा पञ्चेश्वर गाउँपालिकासंग छलफल भईरहेको बताउनुभयो ।