डोटीका किसानलाई उन्नत जातका गाईभैंसी वितरण


विमल विष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले किसानहरुलाई आयआर्जनमा जोड् दिनकालागि उन्नत जातका गाई र भैंसी वितरण गरेको छ । पुरै नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर बृद्धि होस् भन्ने उदेश्यकासाथ पूर्ण अनुदानमा उन्नत जातका गाई र भैसी वितरण गरिएको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा नं. ५, ६ र ७ का १३ जना किसानहरुलाई जर्सी, होलिस्टिन र रेड सिन्धी जातका गाई वितरण गरेको नगरपालिकाका पशु सेवा प्राबिधिक डिलबहादुर साउदले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रम अनुसार जम्मा २० जना किसानलाई उन्नत गाई वितरण गर्ने योजना रहेकोमा वडा न. ४ का ७ जना किसानहरुलाई केहि दिनभित्रै गाई वितरण गरिने जनाईएको छ ।

त्यसैगरी नगरपालिकाको वडा नं. १ शिरखोलीसैनका ८ जना किसानहरुलाई मुर्रा क्रस जातका भैंसी पनि वितरण गरिएको पशु सेवा प्राबिधिक साउदले बताउनुभयो । सार्वजनिक सूचना मार्फत किसानहरुबाट फाराम भर्न लगाई ति फाराम उपर नगरपालिकाले स्थलगत अनुगमन गरी किसानहरु छनौट गरिएको नगरपालिकाले जनाएको छ । ढुवानी सहित रु १५ लाखमा २० वटा गाई र रु ७ लाख ६० हजारमा भैंसी खरिद गरी किसानहरुलाई वितरण गरिएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

आफुले बिगत पाँच वर्षदेखि व्यवसायिक रुपमा गाईपालन गर्दै आएको र नगरपालिकाले थप दुइ वटा उन्नत जातका गाई उपलब्ध गराएको साम्भवी एग्रो प्रोडक्शन प्रा.ली.दिपायलका सञ्चालक रवी श्रेष्ठ बताउनुभयो । उहाँले भन्नुभयो, “मैले बिगत पाँच वर्ष देखी उन्नत जातका गाई पालन गर्दै आएको थिए,यो पटक नगरपालिकाले थप गाई दिएपछि मेरो फर्ममा सहुलिएत भएको छ ।”

यसपूर्व दिपायल सिलगढी नगरपालिकाले किसानहरुलाई बाख्रा, बोयर बोका र कुखुरा समेत पूर्ण अनुदानमा वितरण गरिसकेको छ ।