विष्फोटनमा परी १ को मृत्यु, ४ घाइते


कैलाली । धनगढी उपमहानगरपालिका ४ स्थित निलम होटल बाहिर बिहीबार राति  नाम नखुलेको बिस्फोटक पदार्थ बिष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

विष्फोटनामा परी गम्भीर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका १ कैलाश बस्ने २५ वर्षीय रामबहादुर सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै विष्फोटनमा परी घाइते भएका उक्त होटलका संचालक धनगढी उपमहानगरपालिका ३ बस्ने ४० वर्षीय केशबराज पाण्डे, कञ्चनपुर बेल्डाडी नगरपालिका ५ बस्ने ३० वर्षीय लक्ष्मण सेराला, कैलाली धनगढी उपमहानगरपालिका ३ बिशालनगर बस्ने ३८ वर्षीय जितेन्द्र यादब र भारतीय नागरिक धनगढी उपमहानगरपालिका ३ चटकपुर बस्ने ३५ वर्षीय मोबिन खान सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचार भइरहेकोमा केशबराज पाण्डेलाई नेपालगंज रिफर गरिएको छ ।

केही व्यक्तिहरु उक्त होटलको टेबुलमा बसी चिया पिउँदै गरेको अवस्थामा विष्फोट भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि अस्ताल पठाएको थियो । साथै प्रहरीले सोही होटलको बाहिर चाईनिज पेस्तोल १ थान, से।७ प ३१४४ नम्बरको मोटरसाइकल, डायरी १ थान, रिमोट जस्तो देखिने बस्तु १ थान र टेस्टर १ थान समेत फेला पारेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।