डोटी जिल्ला प्रशासनले खोल्योे गोप्य स्तनपान कक्ष


विमल विष्ट, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्लामै पहिलो पटक महिला सेवाग्राहीलाई लक्षित गरी गोप्य स्तनपान कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा ग्राहि महिलालाई स्तनपान गराउनमा समस्या भएको जानकारी आएपछि हामीले गोप्य स्तनपान कक्ष सञ्चालन गरेकाछौँ,अहिले महिलालाई स्तनपान गरान सहयोग पुगेको छ ।” महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले जिल्ला प्रशासन कार्यालयले हाताभित्रै स्तनपान कक्ष स्थापना गरेपछि सेवा ग्राहि महिला निकै खुसि भएका छन् ।

कार्यालयमा स्तनपान कक्ष स्थापना भएपछि दुधेबच्चासहित महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो भएको कार्यालयका प्रशासकीय अधिकृत मणिराज पौडेलले बताउनुभयो । कार्यालयलाई महिलामैत्री बनाउनका लागि पहिलो सुरुवात गोप्य स्तनपान कक्षबाटै शुरुआत गरेको प्रमुख जिल्ला अधिकारी पोडेलले बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “म आईसकेपछि पहिलो पटक गोप्य स्तनपान कक्ष सञ्चालन गरेका छौँ,क्रमिक रुपमा पुरै प्रशासन कार्यालय महिला मैत्री बनाईने छ ।” जिल्लाका अन्य कार्यालय र गाउँपालिका÷नगरपालिकामा पनि यस्ता कक्षको स्थापना गर्नुपर्ने प्रमुख जिल्ला अकिारी पौडेलले आग्रह गर्नु भयोे । जिल्ला प्रशासनका गोप्य स्तनपान कक्ष स्थापना गरिएपनि अन्य कार्यालयहरुमा भने अहिले सम्म उक्त कक्ष हरु खोलिएको छैन् । महिलाको बढी सहभागिता हुने कार्यालयहरु मालपोत,जिल्ला अस्पताल,जिल्ला प्रहरी कार्यालय, नगरपालिका लगायतका बिभिन्न कार्यालयमा महिला मैत्री तथा गोप्य स्तनपान कक्ष हुने पर्ने जिल्लाका महिलाहरुको माग रहेको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय डोटीले नागरिक सहायता कक्ष पनि स्थापना गरेको छ । नागरिकलाई सहज सेवा प्रदान गर्न र कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउनका लागि यो कक्ष स्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालयबाट पुरानो सेवा र ढाँचालाई अन्त्य गर्दै सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्दै सन्तुष्ट बनाउने गरी सेवाप्रवाह चुस्त बनाइएको छ । नागरिक सहायता कक्ष स्थापना भएपछि सेवाग्राहीले पनि सहजता महसुस गरेको स्थानिय शिद्धराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रशासनले नागरिक सहायत कक्ष स्थापना गरेपछि सबै सेवा ग्राहिलाई काम गर्न देखी लिएर अन्य सेवा सुबिधा र कामका बारे बुझन सहज भएको छ ।”