विराटनगरमा कृषि उद्यम केन्द्र स्थापना


सरोज यादव ,विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशस्तरीय कृषि उद्यम केन्द्र विराटनगरमा स्थापना भएको छ ।

प्रदेशस्तरीय केन्द्रको प्रदेश राजधानी विराटनगरमा आयोजित कार्यक्रममा बिहीबार महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको छ । नेपाल सरकारसँगको सहकार्यमा उद्योग वाणिज्य महासंघले विगत २८ वर्षदेखि कृषि उद्यम केन्द्र स्थापना गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । महासंघले प्रदेश–१ मा प्रदेशस्तरीय केन्द्र पहिलोपटक सञ्चालनमा ल्याएको हो ।

प्रदेश–१ बाट सुरु भएको उद्यम केन्द्र अन्य प्रदेशमा पनि विस्तार गरिने अध्यक्ष राणाले बताउनुभयो । यसअघि नै प्रदेशस्तरीय महासंघ गठन भइसकेको छ । संघीयताको भावनाअनुसार उद्यम केन्द्रलाई पनि सातवटै प्रदेशमा स्थापना गर्ने योजना गरेको अध्यक्ष राणाको भनाइ छ ।

अध्यक्ष राणाका अनुसार आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापनलगायत उद्यम केन्द्रको कार्यक्षेत्रभित्र पर्दछन् । प्रदेशमा स्थापना भएको कृषि उद्यम केन्द्रको गतिविधिहरू निर्वाध रुपमा बढ्नेमा आफू आशावादी रहेको राणाले बताउनुभयो । अध्यक्ष राणाले सरकारले ल्याएको कर नीति तथा भेहिकल एण्ड कन्साइनमेन्ट टे«किङ सिस्टमका विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनुभयो । कर नीतिका विषयमा सरकारबाट सकारात्मक आश्वासन आएकाले केही दिनभित्रै समस्या समाधान हुने उहाँको दाबी थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले प्रदेश–१ कृषिका लागि उर्बर भूमि रहेको चर्चा गर्दै उद्यम केन्द्रले कृषिको विकासमा काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानले केन्द्रको स्थापनाले प्रदेश–१ का उद्योगी, व्यवसायी, कृषकलाई सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्रकुमार खडकाले कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको संख्या वृद्धि गर्ने बताउनुभयो ।

महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले प्रदेशस्तरीय कृषि उद्यम केन्द्रले १ नम्बर प्रदेशमा रहेका सबै उद्योग वाणिज्य संघहरूसँग समन्वय गरेर काम गर्ने प्रस्ट्याउनुभयो । प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ गत माघ २९ गते मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आड्बो र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच समझदारीपत्रमा हस्ताक्षरको थियो ।

त्यही समझदारीअनुसार प्रदेश–१ मा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कृषि उद्यम केन्द्रको स्थापना गरिएको हो । कृषि उद्यम केन्द्रको सभापतिमा नरेन्द्रकुमार खडका र सदस्यमा राजेन्द्र राउत र लिलम बस्नेत रहेका छन् ।