कडा रोगले थलिदैं इलामे नागरीक

एक बर्षमा ९६ जना क्यान्सर रोगीले लिए आर्थिक सहायता


गणेश घिमिरे, इलाम । जिल्लामा पछिल्लो समय कडा रोगीको सङ्ख्या धेरै बढेको पाइएको छ । कडा रोगीको उपचारका लागि स्थानीय तहबाट आर्थिक सहायताका लागि सिफारीस लिनेको सङ्ख्यालाई हेर्दा जिल्लामा कडा रोगीको सङ्ख्या उच्च देखिएको हो ।

विषादीको अनियन्त्रित प्रयोग र खानपानमा लापार्वाही गर्दा कडा रोगको प्रकोप बढेको स्वास्थ्यकर्मी बताउँछन् । इलाम अस्पतालका डाक्टर पवनजंघ रायमाझिका अनुसार जिल्लामा विषादी प्रयोग भएका तरकारी तथा फलफूलजन्य लगायतका खानेकुराका कारण कडा रोगिको सङ्ख्या बढेको बताउनुहुन्छ ।

कडा रोगीमध्ये जिल्लामा सबैभन्दा धेरै क्यान्सरका रोगी रहेको पाइएको छ । व्यवसायिक खेतीका नाममा विषादीको अत्यधिक प्रयोग र खानपानमा ध्यान नदिँदा क्यान्सरका रोगी बढेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका दशवटै स्थानीय तहमा क्यान्सरका रोगी बढी देखिएको जिल्ला स्वास्थ्य कार्यालय इलामको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्ष ०७५/०७६ मा जिल्लाभरबाट ५२ जना महिला सहित ९६ जना क्यान्सरका रोगीलाई आर्थिक सहायता सिफारिस गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो आर्थिक बर्षमा जिल्लाबाट जम्मा कडा रोगि भएका दुईसय २२ जनाले आर्थिक सहायताका लागि सिफारीस लिएका छन् । स्वास्थ्यको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्ष ०७४/०७५ मा क्यान्सर रोग लागेका एकसय ९३ जनाले आर्थिक सहायताका लागि सिफारीस लिएका थिए । कडा रोगमा क्यान्सर, मुटु रोग, ब्रेन ट्युमर, स्पाइनल इन्ज्युरी, पार्किन्सन पर्दछन् ।

गत आवमा पश्चिमि देउमाई नगरपालिकाले कडा रोग लागेका २१ बिरामीलाई सहयोगका लागि सिफारिस गरेको छ । त्यसमा ११ जना क्यान्सर रोगीका लागि थिए । त्यसैगरी छजना मुटुका र चारजना मृगौलाका रोगी थिए । सूर्योदय नगरपालिकाले पनि २५ जनालाई सिफारिस दिएको छ । त्यसमा २१ ज्ना क्यान्सर रोगी थिए । यस्ता कडा रोगीका सम्पत्तिसँगै ज्यानै गुमाउनेको संख्या बढ्दै गएको छ । यसरी जिल्लाका सबै स्थानीय तहमा कडा रोगीको सिफारसि लिनेको सङ्ख्या बढ्दै गएको हो । स्थानीय तहमा सहायता माग्नेको संख्या बढ्दै गएको सूर्योदयका मेयर रणबहादुर राईले बताउनुभयो ।

बिषेश गरेर चिया, तरकारीको पकेट क्षेत्र रहेका स्थानीय तहमा कडा रोगीको सङ्ख्या बढी देखिएको छ । चिया र तरकारीमा बढ्दो बिषादीको प्रयोग बढ्दा कडा रोगीको सङख्या पनि बढेर गएको हो ।