क्यान्सरपीडित सुनकाशीलाई युएईबाट ५० हजार आर्थिक सहयोग

0
Shares

लमजुङ । लमजुङकी स्तन क्यान्सरको समस्याबाट पीडितलाई युएईमा संकलन भएको ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङको रोहबरमा ५० हजार रुपैया हस्तान्तरण गरिएको हो ।

लमजुङको मस्र्याङदी गाउँपालिका– ७, ङादीकी ४५ बर्षीया सुनकाशी गुरुङलाई जिल्लाबाट युएईमा गएर बसेकाहरूले सहयोग गरेका हुन् । लमजुङ समाज युएईको अबुधावी क्षेत्रीय इन्चार्ज आइतराम गुरुङको नेतृत्वमा संकलन गरिएको हो । उक्त रकम बेसीसहरमा एक कार्यक्रमकाबीच पीडित सुनकाशीलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम संकलन आइतरामका श्रीमती ईन्द्रा गुरुङले पीडित सुनकाशीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

लमजुङ समाज युएई, तमु समाज युएई लगायत विभिन्न संघसंस्थासंग आवद्ध महानुभावसंग संकलन गरिएको ५० हजार रुपैयाँ पीडित सुनकासीलाई हस्तान्तरण गरिएको छ । हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइरहनु भएकी सुनकाशीलाई प्राप्त सहयोग रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा सुनकाशीका छोरी विष्णु गुरुङ, गुरुङ फिल्मका नायक खेमराज घले, मस्र्याङदी गाउँपालिका– ६ नाइँचेकी नरकुमारी गुरुङ, दोर्दी गाउँपालिका– ७ दारिमबोटका अमृत गुरुङ लगायतको सहभागिता थियो ।

क्यान्सरको अप्रेसन गरेर उपचार गर्नुपर्ने र महंगो हुने भएकाले आफ्नो उपचारमा सहयोग गरिदिन पीडित सुनकाशीले आग्रह गर्नुभएको छ । कहिल्यै नचिताएको रोग लागेको र आर्थिक अवस्था नाजुक रहेकाले सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ । पीडित सुनकाशीको उपचारमा हालसम्म एक लाख रुपैँया बढी खर्च भएको परिवारले जनाएको छ । उहाँको उपचारका लागि युएईमा आर्थिक संकलन भइरहेको लमजुङ समाज युएईका महासचिव शिवजंग गुरुङले बताउनुभयो ।

सुनकाशीको घरमा श्रीमान, १ छोरा र २ छोरी हुनुहुन्छ ।