कृषकलाई सहुलियतमा १० हजार कफिका विरुवा वितरण


लमजुङ । लमजुङमा कफिका व्यवसायिक कृषकलाई सहुलियतमा १० हजार विरुवा वितरण गरिएको छ । कफि उत्पादन कृषि सहकारी संघ र आरसिडिसी लमजुङको कफि विकास कार्यक्रममार्फ सो कार्य गरिएको हो ।

संघमार्फत दुई हजार विरुवा र आरसिडिसीको कफि विकास कार्यक्रममार्फत आठ हजार एक सय विरुवा वितरण गरिएको जिल्ला कफि सहकारी संघका अध्यक्ष विश्वप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार आफ्नो खेतबारीमा ५० बोट कफि हुर्काउनेलाई कफिको व्यावसायिक विकास मान्ने गरिएको छ । जिल्लामा कम्तिमा छ सय जना व्यावसायिक कफि किसान उत्पादन गर्ने लक्ष्यका साथ सो कार्य गरिएको अधिकारीको भनाई छ ।

आरसिडिसीको कफि विकास कार्यक्रमको फिल्ड अफिसर समेत रहनु भएका अधिकारीले भन्नुभयो यो वर्ष वितरण गरिएको विरुवाबाट कुल एक सय रोपनी क्षेत्रफल ओगटेको बताउनु भयो । उहाँले भन्नुभयो ‘जिल्लामा कफि व्यवसायी संघको शाखा स्थापना भएको ६१ सालमा हो, आरसिडिसीले २०७४ सालको साउन देखि काम गरेको हो ।’

यो वर्ष जिल्लामा वितरण भएका विरुवा सबै जिल्लाकै नर्सरीबाट उत्पादन भएको अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार ती विरुवा सुन्दरबजार नगरपालिका– ३ र ४ को दुराडाँडा, सोही नगरपालिका– ५ को तार्कु, बेसीशहर नगरपालिका– ९ र १० का साथै, क्ब्होलासोथर गाउँपालिका– १ को कपुरगाउँमा वितरण गरिएको हो । कफिका विरुवा जिल्लाको पूर्वी क्षेत्रको दुधपोखरी गाउँपालिका– २ को विचौरमा समेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसका लागि संघमार्फत प्रतिगोटा ३० रुपैयाँ पर्ने कफिको विरुवालाई ५० प्रतिशत सहुलियतमा प्रदान गरिएको र आरसिडिसीमार्फत वितरण भएका आठ हजार एक सय विरुवालाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको अधिकारीले बताउनु भयो । उहाँका अनुसार किसानको मूल्य नपर्दा माया नहुने देखिएको हुँदा त्यस्तो रकम लिइएको हो । विरुवाका साथमा कृषकलाई प्राविधिक सरसल्लाह पनि दिने गरिएको उहाँले बताउनु भयो ।