४५ जनालाई नगरपालिकाद्वारा मासिक एक हजार भत्ता


लमजुङ । बेसीशहर नगरपालिकाद्वारा आर्थिक वर्ष २०७६/७७ मा बालविकास केन्द्रका कार्यरत ४५ जना सहयोगी कार्यकर्तालाई मासिक एक हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । सहयोगी कार्यकर्ताको लागि सरकारले दिने तलब न्यून भएको स्थितिलाई ध्यानमा राख्दै बेसीशहर नगरपालिकाले त्यस्तो व्यवस्था गरेको हो ।

बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताको लामो समयदेखि तलब ज्याँदै न्यून भएको आवज उठिरहेको थियो । सोही स्थितिलाई ध्यानमा राख्दै नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तरगत आर्थिक बर्ष २०७६/ ७७ को बजेटमा मासिक एक हजार रुपैयाँ प्रोत्साहन भत्ता थप दिने निर्णय गरेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताउनु भयो । उहाँका अनुसार वालविकासमा कार्यरत सहयोगी कार्यकर्ताले यही साउन महिनादेखि मासिक एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने छन् ।

गत आव २०७५/७६ को अवधिसम्म वालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई सरकारले मासिक ६ हजार रुपैैयाँ तलब दिँदै आएको थियो । बेसीशहर नगरपालिका शिक्षा शाखाका उपसचिव किसानराज चिलुवालले सरकारले अहिलेसम्म सहयोगी कार्यकर्तालाई ६ हजार दिँदै आए पनि २०७६/७७ को कार्यक्रम कार्यान्वयन निर्देशिका नआएकोले कति हुन्छ भन्न सकिने अवस्था नरहेको बताउनु भयो ।

बेसीशहर नगरपालिका क्षेत्रभित्र समुदायमा आधारित ९ वटासहित कुल ४५ वटा वालविका केन्द्रमा प्रति केन्द्र एक जनाको दरले ४५ जना सहयोगी कार्यकर्ता रहेका छन् । नगरपालिकाले मासिक एक हजार थप गरी सहयोगी कार्यकर्ताको मनोवल उठाउने काम गरेको नगरपालिका प्रेस सल्लाहकार केसीले बताउनु भयो । उहाँका अनुुसार यसरी नगरपालिकाले पाँच लाख ४० हजार रुपैयाँ व्यवभार बेहोर्नु पर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पोसाक भत्ता स्वरुप बार्षिक १० हजार रुपैयाँ दिने घोषणा गरेको छ । नेपालको संविधानले प्रारम्भिक बालबालिकाका लागि प्रारम्भिक वा बालविकासको हक नै सुनिश्चित गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले प्रारम्भिक बालविकास विद्यालय शिक्षाको संरचना भित्र समावेश गरेको छ ।

तर सरकारले बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई बषौंदेखि न्यून तलबमा काम लगाएको गुनासो रहँदै आए पनि अहिलेसम्म तलब वृद्धि गर्ने ठोस निर्णय गरेको छैन ।