सिक्स लेन सडक बिचको डिभाईडरमा राखिएका बुद्ध मूर्ति तोडफोड

बुद्धमूर्ति तोडफोड अराजक गतिविधि : नेकपा


यमलाल भुसाल, बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको सिद्धार्थ राजमार्गको सिक्स लेन सडक बिचको डिभाईडरमा राखिएका बुद्ध मूर्तिहरू तोडफोड भएका छन् ।

तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । बुधवार साँझसम्म केही नभएका बुद्ध मूर्ति विहिवार बिहान तोडफोड भएको देखिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन । घटनाको प्रहरी टोलीले अध्ययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो। एउटा मूर्तिको तौल नै १ सय १० किलो छ ।लुम्बिनीको झल्को दिनेगरी मुख्य सडकको बिचको डिभाईडरमा राखिएका मूर्ति कसले र किन तोडफोड गरे भन्ने प्रश्न अहिले गम्भिर बनेको छ भने यसमा ठूलै समूहको सहभागिता रहेको आशंका गरिएको छ ।

मूर्तिमा भएको तोडफोडलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । शान्तिका अग्रदुत महामानव गौतम बुद्धको मूर्ति तोडफोड गर्नेलाई तुरुन्त पहिचान गरी कारवाही गर्नुपर्ने माग सहित सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

यसै बिच सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगर क्षेत्रमा लुम्बिनीको झल्को दिने गरी राखिएका गौतमबुद्धका मूर्तिहरु तोडफोड गरिएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाले स्तव्ध भएको जनाएको छ ।

नेकपा तिलोत्तमा नगर कमिटीले बिहीबार एक विज्ञप्ती जारी गर्दै घटनाप्रति स्तव्ध भएको जनाएको हो । नगर अध्यक्ष मोहन चापागाईंद्वारा जारी विज्ञप्तीमा बुद्धमूर्ति तोडफोड जस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।

विज्ञप्तीमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुता कायम राख्न र संयमता अपनाउन सबै पक्षलाई अपिल गरिएको छ ।