बाढी पीडितमा छाला सम्बन्धि रोगको समस्या


सरोज यादव ,विराटनगर । बाढीका कारण घर डुबानमा परेपछि विराटनगर–१२ को बखरी स्कुलमा दरैया, सिमराहि टोलका ४ सयजना मुसहर पिडितहरु शुक्रबारदेखि बसिरहेका छन् । केसलिया खोला र धुधुवा पैनीमा आएको बाढीले घर डुवानमा परेपछि शुक्रबारदेखि स्थानीय बखरी स्कुलको सरणमा बसेका बाढी पिडितहरु निदाउन सकेका छैनन् ।

सानो विद्यालय मानिसको चाप बढी र विद्यालयमा समेत हिलो ज्यादा भएकाले उनिहरुका छालाको समस्या देखिन थालेको छ । विराटनगर महानगरपालिकाले बखरी स्कुलमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा जाँच गराउने अधिकांशमा छाला चिलाउने, ज्वरो र खोकीको समस्या देखिएको हेल्थ असिस्टेन्ट विश्वनाथले जानकारी दिए । एउटै कक्षा कोठामा धेरैजना सुत्नु परेको र लामखुट्टे धेरै लागेका कारण पिडितहरु रातभर निाउन सकेका छैनन् ।

 

विभिन्न संघसंस्थाहरुले सुत्न मेट्रेस दिएको भएपनि झुलको व्यवस्था नहुदा सुत्न समस्या भइरहेको पिडित विन्दा ऋषिदेवले बताउनुभयो । एक परिवारमा ७ देखि १० जना सदस्या रहेको बताउँदै उनले आफुहरुलाई दिइएको एक परिवार एक मेट्रेस पर्याप्त नभएको उनले गुनासो गर्नुभयो । विराटनगर महानगर १२ सिमराहि, दरैया, मलङ्गवा र महतो टोलका लगभग सबैजसो घर डुवानमा परेका छन् । यी मध्ये लगभग ४ सय जनाले शुक्रबारदेखि नै घर छोडेर बखरी स्कुलको शरण लिएका छन् । केसलिया खोलामा बाँध बनाए बाढीको समस्या समाधान हुने उनीहरु बताउँछन् ।

तर यसतर्फ कसैले ध्यान नदिएको पिडित मन्जवकुमार ऋषिदेवले बताउनुभयो । १२ नम्बर वडा मात्रै हैन विराटनगर महानगरपालिकाका र कटहरी गाउँपालिकाको सीमानामा पर्ने सिंघिया खोलालको किनारको सुकुम्बासी बस्तीमा बसोबार गर्नेहरु पनि हरेक वर्ष बाढीको प्रकोपमा पर्छन् । तर, सुरक्षित र भरपर्दो बसोबारको व्यवस्था नहुँदा जति पटक विस्थापित भएपनि जोखिम टरेपछि उनीहरु फेरि फर्केर पुरानै ठाउँमा जान्छन् ।

बाढीका कारण सबै जसो वडाहरु प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । खासगरी १, ६, ७, ८, १२ र १६ नम्बर वडाका करिब एक हजारजना बाढीका कारण विस्थापित बनेको जनाइएको छ ।