बैतडीका दुई सामुदायिक विद्यालय नमूनाको रुपमा छनौट


विनोद सिंंह विष्ट, बैतडी। बैतडीका दुईओटा सामुदायिक विद्यालय नमूना विद्यालयको रुपमा छनौट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले प्रकाशन गरेको सूची अनुसार मणिलेक मावि काँडा मेलौली र ज्ञानेश्वर मावि विजयपुर बैतडी नमूना विद्यालयको रुपमा छनौट भएका हुन् ।

एक निर्वाचन क्षेत्रमा एक नमूना विद्यालय अन्तर्गत मणिलेक मावि काँडा मेलौली र स्थानीय तहका विद्यालय मध्ये ज्ञानेश्वर मावि विजयपुर खोड्पे नमूना विद्यालयका रुपमा छनौट भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो ।

विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले प्रकाशन गरेको सूचनाका आधारमा विद्यालयहरुले नमूना विद्यालयका आवेदन भरेका थिए । सोही आवेदनका आधारमा जिल्लास्तर र केन्द्रस्तरबाट अनुगमन भई विद्यालयहरुले पाएको अंकका आधारमा नमूना विद्यालय छनौट भएका इकाइ प्रमुख अवस्थीले बताउनुभयो ।

नमूना विद्यालय अन्य विद्यालयहरुका लागि पनि सिकाईका श्रोत हुने विश्वास गरिएको छ । नमूना छनौट भएका विद्यालयहरुले विभिन्न अनुदान समेत प्राप्त गर्ने र सामुदायिक विद्यालयहरुमा सुधार ल्याउनका लागि नमूना विद्यालयका राम्रा कुराहरु अन्य विद्यालयले पनि अनुसरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।