छाडा चौपायाले डोटीका किसानलाई सास्ती


विमल विष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडान. ४ पिपल्लाका स्थानीयको खेतबारीमा जहिले नी दर्जन भन्दा बढी गाई,गोरु जम्मा हुने गर्दछन् । धानरोप्नका लागि लाईएको धानको बिउ तथा तरकारी खेती गाई,गोरुले खाएर बाँझो खेत जस्तै बनाइदिने गरेकाछन् ।

प्रतेक दिन स्थानीयले गाई,गोरु लखेट्दै पिपल्ला बजार सम्म पुर्याएपनि फेरी खेतमा गएर धानको बिउ तथा तरकारी खाई दिन थालेपछि यहाँका किसानहरु हैरान भैसकेका छन् । यतिमात्र नभई यहाँका छाडा चौपायाले बजारमा पशलेले बेच्नका राखिएका तरकारी समेत खाने गरेका कारण निकै समस्या हुदै आएको स्थानिय तजबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “छाडा चौपायाले पशलमा राखेको तरकारी समेत खाएर हैरानी बनाई सके,कस्का गोरु हुन पत्तो लाग्दैन ।”

पछिल्लो समयमा जिल्लाका छाडा चौपायाका कारण सार्वजनिक यातायात सेवामा पनि चुनौती भएको छ । सडकभरी छाडा चौपायाका कारण दुर्घटना समेत त्यत्तिकै बढेको छ । तर गाइगोरुको न्यायोचित व्यवस्थापन भने हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडकभरी पुरै चौपाया मात्रै छरिएका हुन्छन्,गाडी चलाउन चालकलाई समस्या भएको छ,ट्राफिक व्यवस्थापनमा पनि समस्या हुदै आएको छ, कता लैजाने हैरानी भैसक्यौँ ।” नगरपालिकाले सामुदायिक वनमा काञ्जिहाउस बनाएमा छाडा चौपायाको व्यवस्थापन हुने उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छाडा चौपायालाई व्यवस्थापन गर्न नगरपालिकाले सामुदायिक वनमा टहरा (काञ्जिहाउस) वनाउनुपर्छ,जसले गर्दा यहाँको समस्या समाधान हुनेछ ।”

गाईले दुध दिन छोडेपछि यहाँका स्थानियले गाई छाडा रुपमा जथाभाबी छोड्ने गरेका कारण पिपल्ला बजारमा समस्या भएको दिपायल पिपल्लाका व्यापारी रमेश अवस्थीले बताउनुभयो । “दुहुनो गाई छन्जेल घरमा पाल्ने र दुध खाने,दुध दिन छाडेपछि बजारमा छोड्ने परिपार्टीले समस्या भएको”, उहाँले भन्नुभयो, “गाई छोड्नेलाई कार्वाहि हुनुपर्छ ।”

केही वर्ष यता देखी डोटीमा छाडा चौपायालाई व्यवस्थापन गर्न स्थानीय सडक तथा बजारमा निकै समस्या भएको छ । यो अवस्थामा छाडा चौपायाहरु आफ्नो आहाराका लागि बेइमानी बनेका छन् । रातभरी स्थानीय बजार वरिपरी बालीनाली तथा तरकारी बारीको नोक्सान गर्ने र बिहान स्थानीयले लखेटेर सडक तथा बजारमा छोड्ने गर्नाले यात्रु तथा अन्य सबै स्थानियकालागि चौपाया सास्ती बन्दै आएको स्थानियवासीको भनाई छ ।

रैथाने गाइले धेरै दूध दिन नसकेपछि तथा बेकर्ना भएपछि फेरी गर्भवती नहुने समस्याले सडकमा छोडिएका छन् । रैथाने गाइलाई अर्को वर्ष दूध दिने अवस्था सिर्जना गर्न खासै पहल नहुँदा पनि गाईहरु सडकै छोडिएका हुन सक्ने स्थानीय मोहन पातलीले बताउनुभयो । जिल्लामा रहेको डिभिजन पशुसेवा कार्यालयले पनि उन्नत जातका गाइलाई मात्र कृतिम गर्वाधारण गर्ने लक्ष्य लिएपछि रैथाने गाइहरु स्थानियले सडकमा छोड्ने गरेको उहाँको आरोप छ ।

साघुँरो सडकमा छोडिएका छाडा चौपायाका कारण सडक दुर्घटना हुने गरेको शैलेश्वरी यातयातका सबारी चालक मदन बिकले बताउनुभयो । छाडा चौपायाको व्यवस्थापन गर्न स्थानीय तहले कुनै आधिकारिक कार्यक्रम ल्याउन सकेका छैनन् जसका कारण सरोकारवालाहरु नै दोषी बनेका छन ।

हिन्दु धर्मालम्बीहरुको मर्दा पर्दा दान लिने दिने जनावर नै गाइ भएको र दान दिएका गाईहरु ब्रामणहरुले नै बढी छोड्ने गरेको कतिपए स्थानियहरुको आरोप छ । कतिपयले गाई दुहुनका लागि या गोरु जोत्नका लागि किन्ने र बिना सिजनमा छाडा छोड्ने गरेको पिपल्लाका स्थानिय गणेशबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँचे अर्को साल फिर्ता ल्याउला, मरे पनि उतै मर्छन भन्ने प्रबृतिले छाडा चौपायाको बिचल्ली भएको छ ।

यसरी छोड्नेलाई स्थानीय प्रशासनले कडा कार्बाही गर्नुपर्छ ।” बकेर्ना गाई छोड्ने प्रबृतिले गाई जोगाउनै मुस्किल भएको बिश्व हिन्दु महासंघ डोटीका अध्यक्ष राजप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईलाई छाडा छोड्दा नेपालको राष्ट्रिय जनावर नै संकटमा पर्न थालेको छ,गौ हत्या र बिचल्ली पानु भनेको अपराध गर्नु हो ।” छाडा चौपायाले सडकमा मात्र नभएर किसानहरुलाई पनि सास्ती दिदै आएका छन । बेमौषमी तरकारी तथा अन्नबाली पनि जोगाउनै कठिन भएको स्थानिय तथा नेकपाका नेता तेज डुम्रेलले बताउनुभयो ।

दिपायलको पिपल्ला बजारमा मात्र होइन, अधिकाशं सुदूरपश्चिमका बजारहरुमा नै छाडा चौपायाले सबैलाई सास्ती दिने गरेका छन् । यहाँका सडकहरु अहिले छाडा चौपायामए भएकाछन् ।