बैतडीमा एक सय २२ थान हातहतियार संकलन


विनोद सिंह विष्ट, बैतडी। बैतडी प्रहरीले चार महिनाको अवधिमा १२२ थान हातहतियार संकलन गरेको छ । गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत् जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उक्त हातहतियार संकलन गरीएको हो ।

संकलित हतियारमध्ये ११८ थान एकनाले भरुवा बन्दुक र ४ थान बारबोर रहेको बैतडीका प्रहरी प्रमुख ,प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । संकलित हतियार सबै इजाजतप्राप्त रहेका उहाँले बताउनुभयो ।

हतियार संकलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउने साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको छ ।

अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध अवैध हतियार बुझाउन आग्रह गरेकोे बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयोे ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन गत चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो ।

यसका साथै गत फागुन २८ को मन्त्रिपरिषदको बैठकले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।