यमलाल भुसाल, बुटवल । योगदामा आधारित सामाजिक सुरक्षा कोष र ढुवानी सन्दर्भको सवारी साधन ट्रयाकिङ् प्रणाली सम्बन्धमा रुपन्देही जिल्लाका संघसंस्थाहरु (सञ्जाल)को गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
सरकारले पूर्वाधार तयारी बिनानै उद्योगी व्यवसायी एवं रोजगारदाताहरुको वास्तविकता नबुझी हचुवाको भरमा यी योजना ल्याएको भन्दै यी योजनाहरुले उद्योग व्यवसाय क्षेत्र धरासायी बन्ने खतरा बढेको औंल्याएका छन् ।
सञ्जालले सोमबार एक विज्ञप्ती जारी गरि उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव पर्ने यस्ता खालका योजनाहरु लागू गर्दा मूल्य बृद्धि भई विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी स्थानीय उद्योगी व्यवसायी धरासायी हुने निश्चित रहेको बताएको हो । सरकारले उद्योगी व्यवसायीको भावना विपरित एकलौटी ढंगबाट योजनाहरु लागू गर्न खोजेमा व्यवसाय बन्द गरी आन्दोलनमा होमिन बाध्य हुने उल्लेख गर्दै आफूहरुका मागलाई सम्बोधन गर्न र उद्योग व्यवसाय संचालनको उपयक्त वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराईएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गर्नु अघि हरेक स्तर र क्षेत्रका रोजगारदाताहरुसँग थप छलफल गर्नुपर्ने र कोषमा सरकारको समेत सक्रिय सहभागिता हुनुपर्ने, उद्योगी व्यवसायी एवं रोजगारदाताको पूँजी र कार्यरत श्रमिक संख्याको आधारमा ठूला, मझौला र साना उद्योगको वर्गीकरण गरी मापदण्डको आधारमा क्रमिक रुपमा लागू गर्दैै जाने व्यवस्था गर्नुपर्ने, यही साउन १ गतेदेखि लागू गर्न खोजिएको सवारी साधन ट्रयाकिङ् प्रणाली पूर्वाधार र सक्षम जनशक्तिको अभावका कारण तत्काललाई अव्यवाहारिक देखिएको उल्लेख गर्दै यो व्यवस्था तत्काल खारेज गर्न पनि माग गरिएको छ ।
प्रतिक्रिया