इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका प्रतिवादी पक्राउ


काठमाडौं । विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार प्रतिवादी पक्राउ परेका छन् । राहदानी नम्बर ०९७०१५६२ बाहक गोरखा साविक मानवु ५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड अनुसार निज प्रतिवादी सुरेश कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले उनलाई काठमाडौं गोंगबु मित्रनगरबाट पक्राउ गरेको हो ।

गुरुङ थरकी महिलालाई सुरेशले विभिन्न अश्‍लिल म्यासेज लेखी पठाएका थिए । पीडित महिलाका आफन्तले सुरेशलाई त्यस्तो नगर्न अनुरोध गर्दा उल्टै अनुरोध गर्ने व्यक्तिलाई समेत इमो मार्फत अपशब्द लेखी, धम्की समेत दिएका थिए । प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै गत वैशाख ८ गते महानगरीय अपराध महाशाखा टेकुमा पीडित पक्षले सुरेश विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा जाहेरी दिएका थिए ।

उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेश विरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनीमाथी गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो ।

यस विषयमा थप  अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।