बाढी र पहिरोमा मर्नेको संख्या ६०

३५ अझै बेपत्ता, ३८ घाइते


काठमाडौ(नेस) । केहीदिन देखि परेको अविरल बर्षाका कारण देशका बिभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानमा परेर मर्नेको संख्या ६० पुगेको छ । बाढी पहिरोमा परी ३५ जना अझै बेपत्ता छन भने ३८ जना घाईते भएका छन ।

बाढी र पहिरोमा परी बिचल्लीमा परेका २ हजार ५ सय जनाको सकुशल उद्धार गरेको तीनवटै सुरक्षा निकायले जनाएको छ । मुलुकभर लगातार पानी परेपछि सरकारले उद्धार तथा राहतको कामलाई तीव्रता दिएको कारण बिचल्लीमा पर्नेको संख्या यस पटक न्युन रहेको सरकारले दावी गरेको छ ।

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५–५ जना, ओखलढुंगामा ५ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ४–४ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २–२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी ६० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३० जना महिला ३० जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ , उदयपुर १० , रौतहटमा २ सय ५० जना, महोत्तरीमा ७ सय , सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा ४०, सिन्धुलीमा १सय तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा २ हजार ५ सय जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३–३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १–१ जना गरी ३५ जना वेपत्ता भएका छन् ।

मकवानपुरमा ५ जना, ललितपुर र धनकुटामा ३–३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी जम्मा २८जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित भएका छन ।