राष्ट्रपतिले समय दिएपछि ३ वर्षको राष्ट्रिय पुरस्कार एकै समारोहमा वितरण


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समय नदिएका कारण ३ वर्षदेखि रोकिएको फिल्म तथा फिल्मका कलाकार र प्राविधिकहरूलाई प्रतिस्पर्धाका रूपमा प्रदान गरिँदै आएको राष्ट्रिय पुरस्कार शुक्रबार एकसाथ प्रदान गरिएको छ ।
सञ्चार तथा सूचिना प्रविधि मन्त्रालयअन्र्तगतको चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहबीच प्रदान गरिएको हो। बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान समारोहमा प्रमुख अतिथि राष्ट्रपति भण्डारीले २०७३, २०७४ र २०७५ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान गरेकी हुन्।
राष्ट्रिय गान प्रस्तुतिपश्चात् शुरू भएको कार्यक्रमको आरम्भमा नेपाली फिल्मको विभिन्न कालखण्डका उत्कृष्ट गीतमा आधारित रहेर तयार पारिएको आकर्षक नृत्य प्रस्तुत गरिएको थियो। नृत्य सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी, एसराज गरच, जयकिशन बस्नेत, केदार घिमिरे, जितु नेपाल, दीपाश्री निरौला, गौरी मल्ल, सन्नी रौनीयर, पवित्रा आचार्य, जान्वी बस्नेत, विमला केसी, अलिना, छुल्ठिम मोक्तानलगायतका कलाकारले प्रस्तुत गरेका थिए। नृत्यको संयोजन तथा निर्देशन नृत्य निर्देशकहरू वसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्त प्रभात, कविराज गहतराज र दीपेन्द्र तिमल्सिनाले गरेका थिए। फिल्मको राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा यस किसिमको प्रस्तुति प्रस्तुत गरिएको यो पहिलो अवसर हो।
सो अवसरमा २०७३ सालका लागि जात्रा फिल्मबाट मित्रदेव गुरुङले उत्कृष्ट सम्पादन, लभ सासाबाट शिवराम श्रेष्ठले छायांकन, कालो पोथीबाट मीनबहादुर भाम र अविनाश विक्रम शाहले लेखन (कथा, पटकथा, संवाद),
निभ्न लागेको दियो (डाइङ क्यान्डल­) बाट सिर्जना सुब्बाले अभिनेतृ, जात्राबाट विपीन कार्कीले अभिनेता, सेतो सूर्यबाट दीपक रौनियारले उत्कृष्ट निर्देशकको अवार्ड चुमे भने कालो पोथी वर्ष २०७३ को उत्कृष्ट फिल्म सावित भएको छ। सोही वर्षका लागि क्यु प्ह्रो छे (भेडी गोठाले) उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषी चलचित्र तथा छक्का पञ्जा उत्कृष्ट लोकप्रिय फिल्म सावित भएको छ। वर्ष २०७३ का लागि अभिनेतृ सुभद्रा अधिकारीलाई चलचित्र दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ।
त्य
सै गरी २०७४ सालका लागि मंगलम्बाट मित्रदेव गुरुङले उत्कृष्ट छायांकन, कृबाट पुरुषोत्तम प्रधानले छायांकन, धनपतिबाट खगेन्द्र लामिछानेले कथा, पटकथा र संवाद, ब्लाइन्ड रक्सबाट बेनिशा हमालले अभिनेतृ, मंगलम्बाट पुष्पबहादुर खड्काले अभिनेता र ब्लाइन्ड रक्सबाट मिलन मिलन चाम्सले उत्कृष्ट निर्देशकको राष्ट्रिय पुरस्कार चुमेका छन्। वर्ष २०७४ का लागि शेर्पा भाषाको फिल्म टिन्छेन फामाले उत्कृष्ट आदिवासी जनजाति, विभिन्न मातृभाषी फिल्मको अवार्ड लगेको छ भने सोही वर्षका लागि मिथिला शर्मा र रमेश रञ्जन झाले उल्लेखनीय अभिनयको राष्ट्रिय चलचित्र पुरस्कार चुमेका छन्। वर्ष २०७४ का लागि निर्देशक तथा लेखक किशोर रानामगरलाई दीर्घ साधना सम्मानको घोषणा गरिएको छ। मृगौला प्रत्यारोपण गरेर स्वास्थ्य लाभ गरिरहेका राना शुक्रबार भएको अविरल वर्षाका कारण कलंकीस्थित आफू बसेको अपार्टमेन्ट डुबानमा परेपछि सम्मान ग्रहण गर्न राष्ट्रपति कार्यालय पुग्न सकेनन्।
वर्ष २०७५ का लागि फिल्म गोपीबाट दीपेन्द्र लामा उत्कृष्ट कथा तथा सामीप्यराज तिमल्सिनाले पटकथा र संवाद, समर लभबाट सञ्जय लामाले छायांकन, साइँलीबाट निमेश श्रेष्ठले सम्पादन, बुलबुलबाट स्वस्तिमा खड्काले अभिनेतृ, प्रसादबाट विपीन कार्कीले अभिनेता र बुलबुलबाट विनोद पौडेलले निर्देशकको राष्ट्रिय पुरस्कार चुमेका छन् भने गापी २०७५ का लागि उत्कृष्ट चलचित्र सावित भएको छ। वर्ष २०७५ का लागि भोरबाट पूजा कर्णलाई जुरी प्रोत्साहन सम्मान प्रदान गरिएको छ। शारीरिक अपांगता भएकी उनलाई पुरस्कार लिएर मञ्च माथि र तल गर्न कठिन हुने देखेपछि राष्ट्रपति भण्डारीले मञ्चमा सँगै रेहको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई कुर्सी मगाएर मञ्चमै बस्न लगाएकी थिइन्। सोही वर्षका लागि आमा सरस्वती मुभिज प्रालिलाई फिल्मको व्यापार विस्तार तथा प्रवद्र्धन सम्मान प्रदान गरियो भने गुरुङ भाषाको फिल्म रिजे नासाँलाई उत्कृष्ट आदिवासी, जनजाति, विभिन्न मातृभाषी फिल्मको राष्ट्रिय पुरस्कार प्रदान गरियो। सोही वर्षका लागि फिल्म निर्माता, निर्देशक, लेखक, छायांकार तथा सम्पादक तुलसी घिमिरेलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो।
यस वर्षबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता सबैलाई ट्रफी र पुरस्कारका साथमा जनही नगद २५ हजार रुपियाँ पनि प्रदान गरिएको थियो। त्यसै गरी दीर्घ साधना सम्मानबाट सम्मानित हुने सबैलाई जनही ३ लाख ५१ हजार १ सय ११ रुपियाँ प्रदान गरिएको थियो। समोरोहमा तीन वर्षका जुरी सदस्यलाई प्रशंसा प्रदान गरिएको थियो। वर्ष २०७३ का लागि रमेश बुढाथोकीको संयोजकत्वमा केशव भट्टराई, रूपा राना, विनोद पौडेल र सामीप्यराज तिमल्सेना निर्णायक सदस्य रहेका थिए भने वर्ष २०७४ का लागि लक्ष्मीनाथ शर्माको संयोजकत्वमा सुचित्रा श्रेष्ठ, फुलमान वल, सवनम मुखिया र विष्णुप्रसाद सुवेदी निर्णायक सदस्य रहेका थिए। त्यसै गरी वर्ष २०७५ का लागि नीर विक्रम शाहको संयोजकत्वमा प्रा. केशव सुवेदी, दिनेश डिसी, गौरी मल्ल र ध्रुव लम्साल निर्णायक सदस्य रहेका थिए।
समारोहमा राष्ट्रपति भण्डारीले आधा शतब्दीको गौरवशाली इतिहास बोकेको फिल्म क्षेत्रको राष्ट्रिय पुुरस्कारले कलाकारहरूलाई थप प्रेरणा र ऊर्जा मिल्ने  विश्वास व्यक्त गरिन्। ‘यस क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने स्रष्टाहरूलाई सम्मान गर्ने थालनी गरेर बोर्डले निकै सराहनीय कार्य गरेको छ। चलचित्र भनेको समाजको समकालीन ऐना हो। संस्कृति, कला तथा एकता प्रदर्शनका लागि मौलिक फिल्म निर्माण गरी साझा राष्ट्रिय दायित्वलाई आत्मसाथ गर्न  आग्रह गर्दछु’ –राष्ट्रपति भण्डारीले भनिन्। त्यसै गरी समारोहलाई स्वागत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ३ वर्षदेखि रोकिएको कार्यक्रम अब लगातार गरिने बताए। ‘क्रमशः नटुटाइकन अझ भव्य र सभ्यसग राष्ट्रिय पुरस्कार आयोजना गरिनेछ र चलचित्र क्षेत्रलाई थप नया उचाइ दिनका लागि सरकारका तर्फबाट कानुनी तथा व्यावसायिक प्रबन्धका पक्षमा सरकारका तर्फबाट प्रयास गरिनेछ’ –मन्त्री बास्कोटाले भने। त्यसै गरी बोर्डका अध्यक्ष केशव भट्टराईले ३ वर्षदेखि रोकिएको कार्यक्रम आफू बोर्डमा आएको ३ महिनामै गर्न सफल भएको र आगामी वर्षबाट राष्ट्रपति भवनबाहिर अझ भव्यरूपमा अवार्ड कार्यक्रम गरिने बताए।