जिल्ला अदालतमा मुद्दाको अप्रत्यासित चाप

0
Shares

लमजुङ । लमजुङ जिल्ला अदालतमा मुद्दाको अप्रत्यासित चाप बढेको छ । विगतका वर्षको तुलनामा चालु आव २०७६÷७७ को अवधिमा जिल्ला अदालतमा मुद्दाको संख्या ह्वात्तै बढेका हुन् ।

लमजुङ जिल्ला अदालतबाट चौमासिक रूपमा गरिने पत्रकार भेटघाटका अवसरमा सो जानकारी दिइएको हो । अघिल्ला दुई आव २०७३/७४ मा तीन सय ८८ र आव २०७४/७५ मा तीन सय ८५ थान मुद्दा दर्ता भएकोमा चालु आव २०७६/७७ को असार २६ गतेसम्मको अवधिमा चार सय ९४ वटा मुद्दा दर्ता भएको जिल्ला अदालतका स्रेस्तेदार जगतबहादुर भण्डारीले पत्रकारहरूलाई बताउनु भयो । उहाँका अनुसार मुद्दा फस्र्याेटको दर भने विगतका वर्षको तुलनामा यो वर्ष अझ बढेको छ ।

अघिल्ला दुवै आवमा तीन/तीन सयका दरले मुद्दा पैmसला भएको देखिन्छ भने चालु आव २०७४/७५ को अवधिमा तीन सय ४० मुद्दा फस्र्योट भएको भण्डारीले बताउनु भयो । तर प्रतिशतको आधारमा भने चालु आवको प्रगति कम देखिन आएको उहाँको भनाई छ । उहाँका अनुसार मुद्दा फस्र्योटको दर अघिल्ला दुई वर्षमा क्रमशः ७७.३१ प्रतिशत र ७७.९२ प्रतिशत रहेको थियो तर चालु आवमा फस्र्योट संख्या ६८.२२ प्रतिशतमात्र भएको अदालतको रेकर्डमा देखिन्छ ।

‘यसरी अप्रत्यासित रूपमा मुद्दा बढ्नुको कारण के देख्नु हुन्छ ?’ भन्ने पत्रकारहरूको जिज्ञासामा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले भन्नुभयो, ‘त्यसका लागि त अनुसन्धान नै गर्नुपर्छ, हामी कहाँ त्यस्तो प्रचलन छैन भन्नुभयो । उहाँका अनुसार गत भदौंदेखि लागू भएको संहिताले पुरुषलाई पनि सम्बन्ध विच्छेदका सिधै अदालतमा दर्ता गर्न पाउने गरी दिएको छुट/अधिकारले यो अवधिमा ४५ जना पुरुषहरू जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका छन् ।

त्यो बाहेक पनि मुद्दाको चाप अघिल्ला वर्र्षको तुलनामा बढेकै देखिन्छ आचार्यले भन्नुभयो । ‘हाम्रो दैनिक जीवनमा तीन कुराले विशेष अर्थ राख्ने गर्छ भन्ने लाग्छ, यहाँ पनि तिनले काम गरेको हो कि ? भन्ने आशंका व्यक्त गर्र्दै ती चिज दबाब, प्रभाव र अभाव ।’ उहाँले भन्नुभयो, ‘हिजोका दिनमा अभिभावकले ‘यत्तिको त सहे पनि हुन्छ नि !’ भनेर पार्ने गरेको प्रभावले काम गरेको हुन सक्छ, अर्को पैसाको अभाव र चेतनाको कमीले कहाँ के कसरी जाने, खर्च के कति लाग्ने हो ? कहाँबाट ल्याउने ? भन्ने पिरलोले पनि मानिस खुम्चिएको हुन सक्छ ।

आज वैतनिक वकिलले गरिब र असहायका लागि निःशुल्क सेवा दिन्छन् । चेतनाको बृद्धि भएको छ, मानिसमा अन्याय किन सहने ? भन्ने भावनाको विकास भएको छ, त्यसले पनि काम गरेको हुन सक्छ भन्दै न्यायाधीश आचार्यले थप भन्नुभयो, ‘यसमा जिल्लाका पत्रकारहरूले अदालतको सकारात्मक सन्देशका समाचार प्रवाह गरेर गरेको सहयोग पनि छ र हामीले पनि गाउँगाउँमा गएर अदालतका बारेमा गरेका प्रचारका कारणले पनि मुद्दाको चाप बढेको आंकलन गर्न सकिन्छ ।’