गाईपालन व्यावसाय प्रवद्र्धनका लागि लिफ्टबाट पानी

0
Shares

लमजुङ । लमजुङको एकमा गाईपालक किसानहरूको प्रोत्साहनका लागि लिफ्टबाट पानी तानेर वितरण गर्न थालिएको छ । सुन्दरबजार नगरपालिका– ७ को पाउँदी स्थित पोखरेल फाँटमा त्यस्तो कार्य गरिएको हो ।

वडा समितिको दुई लाख एक हजार रुपैयाँ र उक्त गाउँका गाई पालक किसान २९ घरबाट ४२ हजार बराबरको श्रमदान गरी उक्त योजना निर्माण गरिएको हो । उक्त गाउँमा लमजुङ र तनहूँको सीमा क्षेत्रमा बहने पाउँदी नदीबाट पानी तान्ने काम गरिएको गाई पालन समूहका अगुवा ध्रुव पोखरेलले बताउनु भयो । उहाँका अनुसार गाईका लागि दिने पानी नभएर निकै अप्ठेरो परेको थियो ।

वडाकार्यालयबाट यो योजना स्वीकृत भएपछि भने सहज हुने भएको पोखरेलले बताउनु भयो । एक इन्च पाइपमा ६०० मिटर दुरी तल रहेको पाउँदी खोलाबाट पानी तान्ने काम गरिएको सो वडाका अध्यक्ष जयराम रेग्मीले बताउनु भयो । उहाँका अनुसार गाईपालन व्यावसाय प्रवद्र्धनका लागि यो योजना वडाले स्वीकृत गरी कार्यान्वयन गरको हो । उहाँले भन्नुभयो, ‘लिफ्टबाट पानी तान्ने यो योजना सफल भएको छ । गाईपाल्ने दाजुभाइहरू उत्साहित हुनुभएको छ ।’ अबको २,३ वर्षमा थप योजना चाहियो भने पनि अब त थप गर्न सकिन्छ खर्च पनि खासै धेरै लाग्दो रहेनछ रेग्मीले बताउनु भयो ।

खोलाबाट तानिएको पानीलाई १५ हजार लिटर क्षमताको रिजर्भ टंकीमा भरेर गाईपालक किसानको घरघरमा वितरण गर्ने गरिएको अर्का गाईपालक किसान टंकराज पोखरेलले बताउनु भयो । उहाँका अनुसार पानी नहुँदा गाई थप्न मन लागेर पनि सकिएको थिएन, मन मरेको थियो, अब पानीको योजना सफल भएपछि उत्साहित भएका छौं । अब प्रायः सबै दाजुभाइले एक÷दुई वटा गाई थपेर पाल्न सक्ने भएको र त्यसका लागि तयारी गरिरहेको उहाँले जानकारी दिनु भयो । उक्त गाउँमा ४१ घर पोखेलले उदाहरीण रूपमा विगतको छ वर्षदेखि गाई पालन गर्दै आउनु भएको छ । सोही गाउँका धु्रव पोखरेलको गोठमा यतिबेला ठूला साना गरी ५१ वटा गाई छन् । तीमध्ये २६ वटा ठूला छन्, १७ वटाले दिनहुँ दुध दिन्न् भने बाँकी नौ वटा अबको एकडेढ महिनाभित्र व्याउँछन् धु्रवले भन्नुभयो । उहाँका अनुसार अन्य गाईका कोरली र बाच्छी हुन् ।

‘गाईका लागि दिनमा पाँच सय लिटर पानी चाहिन्छ, यो गर्मीको बेलामा दिनदिनै नुहाइदिन सक्यो भने राम्रो हुने रहेछ । नुहाएको दिनमा एक लिटर दुध नै बढी दिन्छन् गाईले’ अर्का किसान केशवप्रसाद पोखरेलले अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो यो ठाउँ अलिक उचो स्थानमा छ, जहाँतहीको पानी ल्याउन गाह्रो थियो, मान्छेकै लागि खानेपानीको समस्या हुने स्थितिमा गाईका लागि प्रशस्त पानी एक प्रकारले कल्पना बाहिरको जस्तो कुरा पनि थियो ।’ उहाँ भन्नुहुन्छ– तर यसरी लिफ्टबाट पनि पानी तान्न सकिन्छ भने पछि त्यसमा लाग्यौं, वडाले सहयोग गर्यो,  हामीले टंकीका लागि खाडल खन्ने पाइप विच्छ्याउने आदि काम श्रमदानबाट गरियो समयमै पानी आयो, यतिबोला हामी खुशी छौं ।