अदुवा उत्पादन ६० प्रतिशत घट्यो, मूल्य बढ्यो

उचित मूल्य पाउँदा इलामे कृषक हर्षित

0
Shares

गणेश घिमिरे, इलाम । चार वर्षपछि इलाम सहित प्रदेश १ मा अदुवाको मूल्य बढेको छ । भने अनुसारको मूल्य पाएपछि यस क्षेत्रका अदुवा किसान हर्षित भएका छन् ।

भारतले नेपाली अदुवा निकासीमा प्रतिबन्ध लगाए पश्चात् ओरालो झरेको अदुवाको मूल्य यस वर्षको सिजनको सुरुवातमै वृद्धि भएको हो ।

भारतले अदुवा निकासी गर्न सहज बनाएपछि इलाम सहित पूर्वी नेपालका किसानले उत्पादन गरेको अदुवाको मूल्य सुरुवातमै वृद्धि भएको हो । भारतले अदुवा नकासीमा प्रतिबन्ध लगाउनु र विचौलियाले किसानलाई भने अनुसारको मूल्य नदिँदा अदुवा किसान मारमा पर्दै आएका थिए ।

अदुवाको मूल्य ओरालो लाग्नुको मूख्य कारण विचौलिया रहेको चाल पाएपछि किसान जागरुक हुँदा अदुवाको मूल्य सिजनको सुरुवातमै वृद्धि भएको हो । हरेक बर्ष अदुवा खेतीबाट नोक्सान ब्यहोर्दै आएका किसानले यस खेतीको बिकल्पमा अन्य खेती समेत लगाउन थालेका थिए । तर यस बर्ष सिजनको सुरुमै अदुवाको मूल्य उच्च भएपछि फेरी यस खेतीतर्फ कृषकको आकर्षण बढ्न थालेको छ । अदुवाबाट घाटा ब्यहोर्दा र रोग समेत लागेपछि किसानले अदुवा खेती घटाउँदै लगेका थिए ।

हाल अदुवाको मूल्य प्रतिमन (४० केजी) ४५ सयदेखि पाँचहजार रुपैंयाँ ब्यपारीबाट किसानले पाउँदै आएका छन् । यस क्षेत्रमा उत्पादन भएको अदुवा किसान आफैले बिक्री गर्ने गरेका कारण किसानले उचित मूल्य पाएका हुन् । बारीमै बेच्दा कम मूल्य पाउने भएपछि यस क्षेत्रका किसान आफूले उत्पादन गरेको अदुवा बजारसम्म ल्याएर आफै बेच्न थालेका छन् ।

जिल्लाको बिब्ल्याँटे, मंगलबारे, फिक्कल र तीनघरे बजारमा अदुवाको कारोबार उच्च हुने गरेको छ । अदुवाबाट भनेजस्तो आम्दानी भने यसबर्ष मात्र भएको नाम्सालिङ्गका कृषक बीरमान देवानले बताउनुभयो । अदुवाको मूल्य बढ्दा ब्यपारीहरु पनि हर्षित छन् । जिल्लाका बिभिन्न स्थानका ब्यपारीहरु यतिखेर किसानको घर घरमा गएर अदुवा खरिद गर्नमा ब्यस्त छन् । मूल्यमा भइरहने घटबढले ब्यपारीमा भने चिन्ता थपिएको छ ।

किसानबाट महङ्गो मूल्यमा खरीद गरेको अदुवा बिक्रि गर्ने समयमा मूल्य घट्ने हो कि भन्ने चिन्ताले ब्यपारीलाई सताएको इलाम बिब्ल्याँटेका ब्यपारी कृष्ण पौडेल बताउनुहुन्छ । तर यसबर्ष अदुवाको मूल्य उच्च भएकोले कृषक र ब्यपारी दुवैलाई राहात मिलेको उहाँको भनाई छ ।

पौडेलका अनुसार अदुवाको मूल्य बढेपनि उत्पादन भने ६० प्रतिशतले घटेको छ । अदुवाको उत्पादन सबैभन्दा बढि प्रदेश १ को इलाम सहित धनकुटा, सुनसरी, संखुवासभा, उदयपुर, पाँचथर, तेह्रथुम, खोटाङ र भोजपुरमा हुने गर्दछ । यहाँको अदुवा झापाको धुलाबारीमा प्रशोधन भएर भारत निकासि हुने गरेको छ ।

अहिले प्रशोधन केन्द्रमा इलामबाट दैनिक पाँचगाडी जति मात्र पुग्ने गरेको छ ।