घरदैलोमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य जाँच

0
Shares

धनवीर दाहाल,रुकुम । जेष्ठ नागरिकको सम्मान स्वरुप उनीहरुको स्वास्थ्य प्रतिकुल हुन नदिन स्वास्थ्य जाँच गर्न सुरु गरिएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले जेष्ठ नागरिकका लागी निशुल्क स्वास्थ्य शिविर संचालन गरी अत्याधुनिक सेवा सुविधा सहित अनुभवी विशेषज्ञ मार्फत स्वास्थ्य चेकजाँच गरेको छ ।

नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यका साथ रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । जेष्ठ नागरिकलाई लक्षित गरि नगरपालिकाको झुल्खेत र सोलाबाङमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

मुसिकोट नगरपालिकाको आयोजना र रुकुमेली सामुदायिक अस्पत्तालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । शिविरमा भिडियो एक्सरे, इ.सी.जी, प्रयोगशाला, नाक, कान, घाँटी लगायतको उपचार भइरहेको रुकुमली सामुदायिक अस्पतालका व्यवस्थापक हरिबोल भारतीले बताउनुभयो ।

निशुल्क स्वास्थ्य जाँच गरिने र औषधी पनि निशुल्क पाइने भएपछि जेष्ठ नागरिकले पनि सहज रुपमा स्वास्थ्य जाँच गराएका छन् । आर्थिक, भौगोलिक अवस्थाबाट बञ्चीत नागरिकका लागी निशुल्क स्वास्थ्य शिविरले राहत भएको मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमको भनाई छ । आगामी दिनमा हरेक टोल टोल बस्ती बस्तीमा गएर स्वास्थ्य सेवा दिइने नगरप्रमुख गौतमले जानकारी दिनुभयो ।

निशुल्क स्वास्थ्य शिविरमा अत्याधुनिक सेवा सुविधा सहित अनुभवी विशेषज्ञ मार्फत स्वास्थ्य चेकजाँच गरिएको छ । शिविरमा डाक्टरहरु राजेन्द्र पुनारा र राजकुमार भुजेल लगाएतले जेष्ठ नागरिकको जाँच गर्नुभएको छ ।

यसै गरी मुसिकोट नगरपालिकाको झुल्खेतमा पनि जेष्ठ नागरिकका लागी निशुल्क स्वास्थ्य शिविर सच्चालन गरिएको थियो । मंगलबार मुसिकोट नगरपालिकाको सोलाबाङमा शिविर संचालन भएको हो ।