विद्यार्थीसंख्या कम भएपछि डोटीका चार विद्यालय समायोजन हुदै

0
Shares

विमल विष्ट, डोटी । विद्यालयमा विद्यार्थीको संङख्या कम भएको भन्दै दिपायल सिलगढी नगरपालिकाले आफनो नगरभीत्रका चार वटा सामुदायिक विद्यालय समायोजनको तयारी गरेको छ ।

विद्यार्थी संङख्या थोरै भएका विद्यालयहरुलाई नजिकको विद्यालयमा समायोजन गर्ने तयारी अन्तिम चरणमा पुगेको दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगर भित्रका बिद्यालयमा बिद्यार्थी संङख्या कमी भएको बुझियो ,अब ति बिद्यालय समायोजन गर्ने तयारी भएको छ, चाडै समायोजन गर्ने छौँ ।” उहाँका अनुसार समायोजन हुने चार विद्यालयमा हाललाई बाल विकास केन्द्र सञ्चालन गरिने छ ।

भविष्यमा विद्यार्थी संङख्या बढेमा फेरी विद्यालय सञ्चालनमा ल्याउन सकिने गरी समायोजनको तयारी नगरपालिकाले गरिहेको छ । समायोजनका लागि शिक्षकलाई विद्यार्थी चाप बढी भएको विद्यालयमा पठाउन लागेको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख भोजराज शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समायोजनमा पर्ने बिद्यालयका शिक्षकलाई बिद्यार्थीको चाप बढी भएको स्कुलमा पठाईनेछ र समायोजन हुने बिद्यालयमा बाल विकास केन्द्र सञ्चालन गरिने छ ।” समायोजन हुने चार विद्यालयमा जम्मा विद्यार्थी संङख्या ३७ रहेको छ भने शिक्षक संङख्या ८ रहेको नगरपालिकाले जनाएको छ । दिपायल सिलगढी नगरपालिका वडान. १, बेगातडमा गोदावरी आधारभूत विद्यालय छ । हाल कक्षा ३ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा दुई शिक्षक कार्यरत छन भने कक्षा १ मा १२, २ मा पाँच र ३ मा चार गरी २१ विद्यार्थी अध्ययरत छन् । उक्त विद्यालयलाई दुर्गा आधारभूत विद्यालय खैरतोलामा समायोजन गरिने नगरपालिकाकी शिक्षा इकाई प्रमुख मञ्जु थापाले जानकारी दिनुभयो ।

त्यस्तै वडानं. ५ घोल्ताडामा रहेको दूधेश्वर आधारभूत विद्यालयलाई नजिकैको दिल्पेश्वर माबिमा समायोजन गर्ने तयारी नगरपालिकाले गरेको छ । कक्षा ३ सम्म अध्ययन हुने उक्त विद्यालयको कक्षा १ मा २ र कक्षा २ मा १ गरी जम्मा ३ जना विद्यार्थी रहेका छन् । कक्षा ३ मा भने १ जना पनि विद्यार्थी छैनन् । कक्षा ४ मा विद्यार्थी मात्रै अध्ययनरत रहे पनि विद्यालयमा ३ शिक्षक कार्यरत रहेका छन् । त्यस्तै, वडा नम्बर ५ कै पुन्योदय आधारभूत विद्यालयलाई पनि समायोजन गर्ने तयारीमा परेको छ । उक्त विद्यालयको कक्षा १ मा २ र कक्षा २ मा १ गरी जम्मा ३ जना मात्रै विद्यार्थी छन् । दुई शिक्षक रहेको उक्त विद्यालयलाई नजिकैको महेन्द्र आधारभूत विद्यालय बागठाँटामा समायोजन गर्ने तयारी भइरहेको शिक्षा इकाई प्रमुख तथा विद्यालय निरीक्षक थापाले बताउनुभयो ।

वडानं. ६ को शैलेश्वरी आधारभूत विद्यालय पनि समायोजन हुँदैछ । उक्त विद्यालयलाई बालमन्दिर आधारभूत विद्यालयमा समायोजन गर्ने गरी काम अघि बढेको नगरपालिकाले जनाएको छ । विद्यालय समायोजन गर्न कस्सिएको नगरपालिका शिक्षक समायोजन कसरी गर्ने भनेर अल्मलिएको छ ।

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासी विद्यालय समायोजन गर्न अभिभावक सकारात्मक देखिए पनि शिक्षक समायोजनमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिद्यालय समायोजन गरौ भन्दा अभिावक सकारात्कम भएका छन् तर शिक्षकको अडानका कारण समायोजनमा केही कठिनाई भएको छ ।” नेपाल शिक्षक महासंघ दिपायल सिलगढी नगरपालिकाका अध्यक्ष केदार साउदले विद्यालय समायोजन अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिद्यालय समायोजन गर्नु राम्रो काम हो तर शिक्षक समायोजन गर्दा पायक पर्ने ठाउँ हेरेर गर्नुपर्ने हुन्छ ।”