असार सकिन लाग्यो, रोपाईं भर्खर शुरु

0
Shares

ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे । विगत वर्ष भन्दा यसवर्ष अलि ढिलो गरि मनसुन शुरु भयो । मनसुन शुरु भएपनि वर्षा हुन नसक्दा यसको प्रत्यक्ष असर किसानहरुलाई परेको छ । अधिकांश सिचाई सुविधा नपुगेका जिल्लाहरुमा आकाशेपानीकै भरमा रोपाईं गर्नु पर्ने बाध्यता छ । काभ्रे जिल्लामा पनि यसवर्ष भर्खरै मात्र रोपाईं शुरु भएको छ ।

असार सकिन लाग्दा सम्म जिल्लामा २० प्रतिशत जति खेतमा मात्र रोपाईं भएको छ । विगत वर्षहरुमा यस समय सम्ममा ४० प्रतिशत जमिनमा धान रोपाईं भइसक्थ्यो । ढिलो वर्षा भएकाले यसवर्ष विगतको जस्तो हुन नसकेको जिल्ला कृषिविकास कार्यालयले जनाएको छ । सिचाईं सुविधा पुगेका खेतहरुमा भने समयमै रोपाईं सकिने कार्यालयको अनुमान छ ।

गतवर्ष धान रोपाईं सकेर धान दिवस मनाएको सम्झना गर्ने जिल्लाका अधिकांश कृषकहरुले यसवर्ष धानदिवस सुख्खा रुपमा मनाए । खासै उत्सव पनि आएन । यस वर्ष कम वर्षा हुँदा चिन्तित भएका किसानहरुलाई रासायनिक मलको अभाव पनि उस्तै परेको छ । कतिपय खेतमा चैतमा रोपेको धान काट्ने सिजन हुन लागेकाले त्यो धान भित्र्याइसके पछि मात्र रोपाईं गरिन्छ । केहि ठाउँमा मकै रोपिएको छ ।

त्यसैले पनि असारको रोपाईं केहि समय ढिला हुने भएकै बेला पानी नपरेपछि सम्भव भएका जमिनमा समेत यतिबेला रोपाईं भएको छैन । विशेषगरि मण्डनदेउपुर नगरपालिकाका कुन्तावेसि, चाखोला, ज्वानेटार, जोगिटार, सिपाघाट लगायतका धान उत्पादनका पकडक्षेत्रमा भर्खरै मात्र रोपाईं शुरु भएको स्थानिय कृषक कृष्ण प्रसाद नेपालले जानकारी गराउनु भयो । उहाँका अनुशार असारको तेस्रो साता सकिंदा सम्म धेरै जसो ठाउँमा रोपाईं नै शुरु भएको छैन ।

समयमा रोपाईं गर्न नपाएपछि यसवर्ष धान उत्पादन घट्ने भन्नेमा किसानहरु चिन्तित छन् । गएको वर्ष मौसम अनुकूल भएका कारण देशमै धान उत्पादनमा उल्लेख्य वृद्धि भएको थियो । तर यसवर्ष देशभरिकै मौसम गतवर्षको जस्तो छैन । त्यसैले धान उत्पादन केहि घट्न सक्ने कृषि अनुसन्धान परिषदका इञ्जिनियर गौरीलाल श्रेष्ठले बताउनु भयो । ‘तैपनि अहिले नै यसै भन्न सकिने अवस्था भने अलि छैन ।’ उहाँ भन्नुहुन्छ “असारको अन्त्य सम्ममा रोपाईं गर्न सकियो भने पनि उत्पादनमा खासै कमी आउँदैन ।” त्यसैले अहिले नै किसानहरुलाई नआत्तिन उहाँको अनुरोध छ ।