कुस्मा बजारको फोहोर व्यवस्थापनमा नौलो अभ्यास

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको सदरमुकाम समेत रहेको कुस्माबजारमा फोहोर व्यवस्थापनमा नौलो अभ्यास शुरु गरिएको छ ।
सबै फोहोर एकै पटक उठाउँदा व्यवस्थापन गर्न कठिन भएपछि कुस्माबजारमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने नयाँ अभ्यास शुरु गरिएको हो ।

कुस्मा नगरपालिकाले स्थानिय सिक्रेड नेपाल संग सहकार्य गरेर फोहोर व्यवस्थापन गर्न थालेको छ । अहिले हप्तामा फरक फरक दिन कुहिने र नकुहिने फोहोर संकलन गर्न थालिएको छ । कुहिने फोहोर बंगुरलाई दाना बनाउन दिने र कम्पोष्ट मल बनाउन थालिएको छ भने नकुहिने फोहोर वर्गिकरण गरेर बिक्री गर्न थालिएको छ ।

कुहिने फोहोर संकलन गर्न र नगर्न छुट्टाछुट्टै आवाजमा साइरन बजाउँदै गाडी आउने गरेको छ । साइरन बजेको आवाज सुनेपछि कुश्मावासी घरभित्रको फोहोर बोकेर सडक आइपुग्छन्। हरियो स्टिकर टाँसेको ट्रकमा कुहिने र रातो रातो स्टीकर टाँसेको अर्को ट्रक आउँछ, त्यसले नकुहिने फोहोर लैजान्छ। नकुहिने फोहोर उठाउने ट्रक साताको दुई दिन दिउँसोमात्र आउँछ।

सडकमै यत्रतत्र फालिएको फोहोरले दुर्गन्धित भएपछि नाक थुनेर हिँड्नु पर्ने सहरका बासिन्दाले कुश्माको फोहोर व्यवस्थापनबाट धेरै कुरा सिक्न सक्ने गरि नयाँ व्यवस्थापन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो । ‘फोहोर व्यवस्थापन र सरसफाई साथै आम्दानी बढाउने उद्देश्य समेत राखेर व्यवस्थापनको नयाँ मोडेलमा गएका हौ’ उहाँले भन्नुयो ‘नगरपालिकाले दश महिनादेखि कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न थालेपछि अहिले कुश्मा सफाचट भएको छ’

यसअघि कुस्मा नगरभरिको फोहोर मोदीखोला, बडगाउँ वन र क्याम्पस नजिक खाली जग्गामा फाल्ने गरेको थियो। मोदी र कालीगण्डकी नदी किनार भएका कारण फोहोर फाल्दा नदी प्रदुर्षित समेत भएका थिए । वन र खोला किनारमा फोहोर फाल्दा दुर्गन्ध फैलिएपछि स्थानीय बासिन्दा खबरदारी समेत गरेका थिए । कुहिने र नकुहिने फोहोरलाई घरैदेखि अलगअलग संकलन गर्ने गरेको नगरपालिकाले ‘जिरो वेस्ट म्यानेजमेन्ट’ अन्तर्गत फोहोर उठाइरहेको सिक्रेडका कार्यक्रम व्यवस्थापक टिकाराम भुसालले बताउनुभयो ।

फोहोर संकलनका लागि नगरपालिकाले ठूलो प्लास्टिकको झोला व्यवस्था गरिदिएको छ। त्यही झोलामा घरका फोहोर जम्मा गर्नुपर्छ। ‘जुन पायो त्यही झोलामा, बोरामा, कार्टुनमा जम्मा गरेको फोहोर नगरपालिकाले उठाउँदैन,’ उहाँले भन्नुभयो , ‘नगरपालिकाले दिएकै झोलामा फोहोर संकलन गर्नुपर्छ भनेका छौं।’

विदेश घुम्न गएका बेला त्यहाँका घर, सडक, सार्वजनिक स्थानहरु सफा देखेपछि आफ्नो ठाउँमा पनि सफा राख्ने इच्छा अनुसार दिर्घकालिन हिसाबले फोहोर ब्यबस्थापन थालेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

बजारका घरबाट उठाइएको फोहोर पाँच किलोमिटर टाढाको फोहोर व्यवस्थापन गर्ने र कुहिनेबाट मल बनाउने तथा नकुहिनेलाई पनि बिक्री गरेर व्यवस्थापनमा भएको खर्च उठाउने योजना छ । ‘फोहोर बिक्रीबाट आएको पैसाबाट गाडी मर्मत, तलब लगाएका सुबिधा दिने गरेका छौ’ उहाँले भन्नुभयो । घर भएका, कोठा भाडामा बस्ने, होटलवाला, तरकारी पसल भएकाहरुलाई फरकफरक कर निर्धारण गरिएको छ। करको दर भने बढी भएको गुनासो स्थानियले गर्दै आएका छन ।