प्युठानको मालपोत कार्यालयमा अनलाईन सेवा सुरु

0
Shares

सलिम अन्सारी, प्युठान । मालपोत कार्यालय प्युठानले आइतबारदेखि अनलाइन जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । कागजी प्रकृयाबाट काम गर्दा ढिलो र झण्झटिलो हुने भएकाले अनलाइन मार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय प्युठान अनलाईन प्रणाली मार्फत सेवा प्रदान गर्ने ७२ औं मालपोत कार्यालय हो ।

गुणस्तरीय सेवा प्रदान गर्न र एउटै जग्गा जालसाँझी गरि फरक फरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रकृया मार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको हो । अनलाइन प्रणालीको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले मालपोतमा अनलाइन प्रणाली सुरु भएसगैँ सेवाग्राहीलाई सेवा प्रवाहमा छिटो, छरितो र गुणस्तरीय सेवा प्रदानमा सजिलो हुने बिश्वास ब्याक्त गर्नुभयो।‘मालपोल कार्यालय प्रबिधीमैत्री बन्दा कर्मचारी,नागरिक सबैलाई सहज हुन्छ ’ उहाँले भन्नुभयो ।

अनलाइन प्रणाली सुरु भएपछि आफ्नो जग्गा कति छ भनेर सेवाग्राहीले घरमै बसेर मोबाइल मार्फत नै विवरण लिन सक्ने जिल्ला मालपोत कार्यालय प्युठानका प्रमुख गोपालप्रसाद नकर्मीले बताउनुभयो । देशभरीको जग्गा अनलाईनबाटै हेर्न सकिने भएकाले प्रबिधिले जनताको सम्पति सुरक्षित गर्ने उहाँले बताउनुभयो। सबै कारोबार केन्द्रमा पुग्ने भएकाले कीर्ते काम हुने, जग्गाको मुल्य घटबढ हुने जस्ता समस्या पनि अन्त्य हुने उहाँले बताउनुभयो ।‘

अनलाईन मार्फत भू –अभिलेख प्रणालीबाट जग्गाको एकीकृत तथ्यांक संकलन भई सरकारलाई भू –उपयोग सम्बन्धि नीति बनाउन, कार्यान्वयन गर्न तथा कर प्रशासन लागू गर्नको लागि समेत सहज हुने प्रमुख नकर्मीको भनाई छ ।