राष्ट्रिय पुरस्कारसँगै नगद २५ हजार पनि

0
Shares

काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिकोत्सवको अवसर पारेर आगामी शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना गर्ने भएको छ।

हरेक वर्ष आयोजना गर्ने लक्ष्या राखिएको राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र २०७५ मा हुन सकेको थिएन। २ वर्षको राष्ट्रिय पुरस्कारसमेत प्रदान गर्ने गरी शुक्रबार यो समारोह आयोजना गर्न लागिएको बोर्ड अध्यक्ष केशव भट्टराईले जानकारी गराए। यसपटकको समारोहमा २०७३, २०७४ र २०७५ गरी ३ वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ। ३ वर्षकै फिल्म हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ। २०७३, २०७४ र २०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुनेलाई हरेक विधामा जनही २५ हजार रुपियाँसमेत प्रदान गरिने बोर्डका अध्यक्ष भट्टराईले जानकारी गराए। समारोहमा ३ वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ। पुरस्कारमा नगद पनि दिइने प्रचलन रहेकाले पुरस्कृतलाई उनीहरूको सम्मानका खातिर हरेक विधामा २५ हजार रुपियाँ प्रदान गरिने निर्णय भएको भट्टराईले बताए। अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रतिविधा ५१ हजार रुपियाँ प्रदान गरिने निर्णय पनि बोर्डको बैठकबाट पारित गरेको छ।

यस्तै चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिकोत्सवको अवसर पारेर गत असार १६ गते नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुने सबै विशिष्ट फिल्मकर्मी, सर्जक तथा संस्थालाई समेत सम्मानस्वरुप जनही २५ हजार रुपियाँ प्रदान गर्ने निर्णय चलचित्र विकास बोर्डले गरेको छ।
राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई फिल्ममय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाले करिब १२ मिनेटको नृत्य प्रस्तुत गर्ने भएका छन्। जसका लागि एक साता यताबाट नृत्य अभ्यास भइरहेको छ। पहिलो फिल्म आमादेखि अहिलेसम्मका फिल्मका चर्चित एवं कालजयी गीतमा कलाकारहरूले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नेछन्।

नृत्य निर्देशकहरू वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अहिले विभिन्न गीतमा नृत्य प्रशिक्षण गराइरहेको बोर्डले जनाएको छ। यसपटक पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नका लागि अभिनेता अभिनेतृ सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिलीप रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती नृत्य प्रशिक्षणमा व्यस्त छन्। यस्तै समकालीन पुस्ताका अभिनेता अभिनेतृहरू केदार घिमिरे, पुष्प खड्का, निता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, छुल्ठिम गुरुङलगायत विभिन्न कलाकारले नृत्य अभ्यास गरिरहेका छन्।