बर्लिन । जर्मनीले सिरियामा सैनिक पठाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट गरेको छ । सिरियामा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको सैनिक कारबाहीमा सघाउन अमेरिकाले केही दिनअघि जर्मनीलाई अनुरोध गरेको थियो ।
जर्मन सरकारका प्रवक्ता स्टिफेन साइबर्टले इस्लामिक स्टेट समूह विरुद्धको वृहद् गठबन्धनमा जर्मनी सहभागी रहेको र त्यसलाई निरन्तरता दिइने बताउँदै प्रत्यक्ष सैन्य परिचालन नगरिने स्पष्ट गर्नुभयो ।
सिरियासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले जर्मनीका सञ्चार माध्यमलाई आइतबार प्रतिक्रिया दिँदै उत्तरी सिरियामा जर्मनीले आफ्ना सेना तैनाथ गरोस् भन्ने अमेरिकी चाहना रहेको बताउनुभएको थियो ।
सिरियाका बारेमा वार्ता गर्न बर्लिन पुग्नुभएका जेफ्रीले सेना परिचालनका बारेमा जर्मनीले यसै महिनाभित्र स्पष्ट जवाफ दिने विश्वास व्यक्त गर्नुभयो ।
गठबन्धनका तर्फबाट जर्मनीको सिरियामा संलग्नता आगामी अक्टोबर ३१ मा सकिँदैछ । उक्त मितिपछिका सम्बन्धमा जर्मनीको संलग्नताका बारेमा संसदले निर्णय गर्नुपर्नेछ । रासस
प्रतिक्रिया