स्मार्ट लाईसेन्स बनाईदिने भन्दै ठगी गर्ने ४ जना समातिए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालमा स्मार्ट साईसेन्स बनाउन गह्रो मात्रै हैन अत्यान्तै झनझट र सबैको टाउको दुखाई हुने गरेको छ । ड्राइभिङ ट्रायल पास गरि स्मार्ट लाईसेन्स पर्खेर बस्नेहरुको संख्या अझै पनि लाखौंमा छ ।

अझ कोही त ट्रायल पास गर्न नसकि लाइसेन्स लिन नसकेका मान्छेहरु पनि थुप्रै भेटिन्छन् । यस्तो अवस्थाको फाईदा उठाउँदै स्मार्ट लाईसेन्स बनाईदिने भन्दै ठग्ने प्रवृति पनि ह्वात्तै बढेको छ । काठमाडौंमै यातायात कार्यालयबाट स्मार्ट लाईसेन्स बनाईदिने भन्दै नक्कली लाईसेन्स कारोबार गर्नेको संख्या थुप्रै भेटिएको छ ।

यस्ता गिरोहहरुले स्मार्ट लाइसेन्स समयमै बनाईदिने अस्वासन मात्र दिँदैनन्, नक्कली सवारी चालक अनुमति पत्र तयार बनाउँदै सर्वसाधरणबाट रकम लिने गरेको खुलेको छ ।

महानगरीय अपराध महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलिले नक्कली लाईसेन्स बनाउने तथा सरकारी कागजात दस्तखत किर्ते गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

उनीहरुले काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानहरुबाट सरकारी छाप दस्तखत किर्ते र नक्कली लाईसेन्स समेतका दशी प्रमाण सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्य रामेछाप घर भई ललितपुर, धोविघाट बस्दै आएका ४० वर्षीय मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक, सानो सिरुबारी गाउँपालिका वडा. नम्बर २ घर भई चाबहिल वस्दै आएका ३८ वर्षिय राजेश कुमार श्रेष्ठ, काठमाडौंको लिगंगा बस्ने ३८ वर्षिय राधेश्श्याम नगरकोटी र काठमाडौंको कागेश्वरी बस्ने रुपेन्द्र दर्जी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट १ सेट कम्प्युटर, १ सेट प्रिन्टर, ६० थान यातायत ब्यबस्था बिभागको नगदी रसिद, २ थान अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, १ थान पेन ड्राईभ, ३० थान पि.भि.सि. पेपर, १ थान स्टयाम्प, १ थान यातायात व्यवस्था कार्यालयको अंग्रेजी छाप र विभिन्न व्यक्तीहरुको नागरिकताको प्रतिलिपि बरामद गरेको छ ।

थप कारवाहीको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।