सर्पले डसेर एक बालकको ज्यान गयो

0
Shares

विमल  विष्ट, डोटी । डोटीको पूर्वि क्षेत्रमा पर्ने केआईसिंह गाउँपालिकामा सर्पले डसेर आज एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार केआईसिंह गाउँपालिका वडानं. २ तिखात्तर बस्ने शेरबहादुर बोगटीका ९ वर्षीय छोरा झकेन्द्रवहादुर बोगटीको सर्पले डसेर ज्यान गएको हो ।

घरको आगनमा बसेर किताव पढिरहेका वेला उनलाई सर्पले डसेको थियो । सर्पले डसेपछि शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा उपचारमा लैजादा उनको ज्यान गएको स्थानिय मोहन बोगटीले बताउनुभयो । सर्पले डसेका बिरामीलाई ढिलोगरी अस्पताल ल्याएका कारण अस्पतालमा उपचार सम्भब नभएको शैलेश्वरी अस्पताल दिपायलका डाक्टर ललित लिम्बुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सर्पले टोकेका बिरामीलाई तत्कालै अस्पताल लैजानु पर्छ भन्ने बानीको बिकास नभएको रहेछ,पहिला गाउँमा झार फुकगर्ने बानीका कारण बिरामी मर्ने गरेको पाईयो ।” हिजो बुधवार मात्रै जिल्लाको शिखर नगरपालिका वडान. २ कालागाढ बस्ने स्थानिय ४२ वर्षीया जमुनादेबी कार्कीको पनि सर्पले डसेका कारण ज्यान गएको थियो । उहाँलाई पनि समयमै अस्पताल पुर्याउन नसकिदा ज्यान गएको चिकित्सकहरुले बताएका छन् ।  डोटीमा गर्मि बढे संगै सर्पदंसका बिरामीहरु दिनानु दिन बढ्न थालेका छन् ।