टेलिकमद्वारा विद्यार्थीलाई फोन वितरण


काठमाडौं, (नेस)
नेपाल टेलिकमले विपन्न र दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई स्मार्ट फोन उपलब्ध गराएको छ । सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच आज मंगलबार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गर्नुभयो ।

कार्यक्रममा अधिकारीले नेपाल टेलिकमले देशका विकट क्षेत्रमा समेत अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउनुका साथै फरक क्षमता भएका नागरिकहरुलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहा“ले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसाय मात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको बताउनुभयो ।

भेरीगंगा नगरपालिका १० का वडाअध्यक्ष मानबहादुर बुढाले नेपाल टेलिकमले विभिन्न सेवामूलक कार्य पनि गरिरहेकोमा प्रशंसा गर्दै यस्तो सेवा आगामी दिनमा अन्य क्षेत्रमा समेत उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

मैत्री समाज नेपालका प्रतिनिधि चन्द्रमणि पोखरेलले कम्पनीले प्रदान गरेको मोबाइल सेटमार्फत दृष्टिविहीन विद्यार्थीलाई स्तरीय आवाजसहितको प्रविधिबाट अध्ययन गर्न सहयोग पुग्ने बताउ“दै यसबाट समाजमा पिछडिएका र फरक क्षमता भएकाले पनि केही गर्न सक्छन् भन्ने विश्वास कायम राख्न सहयोग पुगेको बताउनुभयो ।

कम्पनीले सुनसरीको इटहरीमा पनि दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीलाई मोबाइल सेट वितरण गरिएको थियो । यसअन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका दृष्टिविहीन विद्यार्थीलाई उच्च प्रविधियुक्त एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गरी उनीहरुको शैक्षिक स्तर र अवसर अभिवृद्धि गर्न सहयोग पु¥याउने कम्पनीको योजना छ ।

विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको छ ।