सत्तारुढ सांसदको आरोपः १ नम्बर प्रदेशमा सांसदकेन्द्रित बजेट किन ?

0
Shares

सरोज यादव, विराटनगर ।
१ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो मन्त्रालयले तजविजिको भरमा भन्दा पनि सिस्टमले समानुपातिक ढंगले बजेट विनियोजन गरेको दाबी गर्नुभएको छ ।

१ नम्बर प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक अन्तर्गत सामाजिक विकास मन्त्रालय अन्तर्गतको छलफलमा सांसदहरुले उठाएका प्रश्नको मंगलबारको प्रदेशसभा बैठकमा जवाफ दिँदै मन्त्री घिमिरेले यस्तो बताउनु भएको हो ।

उहाँले तराई केन्द्रीत मात्रै बजेट दिइएको भन्ने कुरामा सत्यता नभएको बताउनु भयो । मन्त्री घिमिरेले स्वास्थ्य घुम्ती शिविर, ५ सय विद्यालयका विद्यार्थीको आँखा जाँच गर्ने कार्यक्रम, नयाँ शिक्षालय खोल्ने योजना, प्राविधिक शिक्षालगायतका विषय पहाड केन्द्रीत भएको बताउनु भयो ।

जवाफ दिँदै मन्त्री घिमिरेले सामुदायिक क्याम्पसका लागि छुट्याएको रकम पहाडमै केन्द्रीत गरेको, विद्यालय नर्सिङ कार्यक्रम पहाडमा पनि लक्षित गरिएको, सडक आश्रीत मानव मुक्त प्रदेश बनाउने योजना लिइएको, निसान्तानपनको समस्याबारे सरकारले सोच्नु पर्ने गरी दायित्व बोध गरेर बजेट विनियोजन गरेको पनि बताउनु भयो ।

मंगलबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्रालयले विनियोजन गरेको विधेयकमाथि छलफल सकिएको छ । उक्त छलफलमा सहभागी हुँदै सांसदहरुले पहाडलाई उपेक्षित गरेको गुनासो गरे । सांसद प्रताप प्रकाश हाङमाङले त सांसदहरुको पनि भत्ता बढाउनु पर्ने माग गर्नुभयो । यस्तै सांसद राजन राईले विकाले पहाड चढ्न नसकेको र कोशी पनि नकटेको भन्दै आलोचना गर्नुभयो ।

उहाँले खोटाङका कतिपय क्रमागत बजेट यस वर्ष काटिएको, मन्त्रालयका उपसचिवलाई बिन्ती चढाउँदा पनि आफ्ना योजनाहरु नपरेको भन्दै मन्त्रालयको भद्रगोलताको अवस्थालाई अन्त्य गर्नुपर्ने माग गर्नुभयो । यस्तै सांसद लिला सुब्बाले १ हजारका योजना धेरै पारेको भन्दै या कुन खालको क्रान्ति भन्दै अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो ।

सांसदहरुले पेश गरेका योजनामा १ हजार, १ लाख र ५ लाख परेको तर, एनजिओ आइएनजिओको नाममा १ करोड ५० लाखसम्म दिइएको भन्दै उहाँले अर्थमन्त्रालयको आलोचना गर्नुभयो ।

यस्तै सांसद नारायण बुर्जा मगरले समग्रमा बजेट ठिक आएको भन्दै मन्त्रीको बचाउ गर्नुभयो । यसअघि प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद विजयकुमार विश्वासले विराटनगर तथा कटहरीमा लोडसेडिङले जनता आक्रान्त भएको भन्दै कटहरीमा रहेको सबस्टेसन तत्काल संचालन गर्न माग गर्नुभयो ।

ग्रामथान गिधनियाको ३ किलोमिटर क्षेत्रमा भएको स्थानीय अवरोधलाई खुलाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने भन्दै उहाँले कटहरीमा रहेको ३३ केभिए सवस्टेसन संचालन नभए त्यस क्षेत्रका उद्योगधन्दा देखि सर्वसाधरण लो भोल्टेजको मारमा पर्ने बताउनु भयो ।

सांसद कृष्ण कुमारी राईले जन्मका आधारमा नागरिकता पाउने अधिकारबाट कतिपय नेपाली नागरिकलाई नागरिकता लिनबाट बञ्चित गरिएको भन्दै आवश्यक व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । यस्तै आमाको नामबाट नागरिकता पाउने व्यवस्था कानूनको अभावमा अझै कार्यान्वयन हुन नसकेको भन्दै उहाँले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्नुभयो ।

सांसद गुलेफुन मियाँले रासायनीक मल आयात गर्ने कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ड टे«डिङ कम्पनीले सिजनमा मल उपलब्ध गराउन नसकेको भन्दै छानविनको माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थिगित भएको छ ।