डोटीबासीलाई पहिरोकै डरः भन्छन्–पानी परेपछि निद्रै लाग्दैन

0
Shares

विमल विष्ट, डोटी ।
जिल्लाका ग्रामिण क्षेत्रका अधिकांस स्थानीयलाई हिजो आज बाढी पहिरोको त्रास बढ्न थालेको छ । ग्रामिण बस्ती बिभिन्न कारणले बाढी तथा पहिरोको उच्च जोखिममा भएका कारण यहाँका स्थानीयलाई हिजो आज दिनहुँ चिन्ता बढ्न थालेको हो ।

वर्षादको समय सुरु भएकाले यहाँका स्थानियलाई कतीबेला कहाँ बाढी र पहिरो आउने हो त्यहि विषयले पिरोली रहेको शिखर नगरपालिका ११ बारपाटाका स्थानीय गणेश विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँका वस्तिहरु बाढी र पहिरोको उच्च जोखिममा छन्, राती ठुलोपानी पर्दा कहाँ के हुने हो भनेर हामीलाई निन्द्र सम्म पर्दैन ।” जिल्लाको शिखर नगरपालिकाको वडानं. १० बनलेग र वडान. ११ बारपाटामा वर्षैनी वर्षादको समयमा बाढी पहिरोले दुखः दिने गरेको छ ।

सेती नदीमा पानिको बहाव बढे संङ्गै वारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नु पर्ने बाध्यता कायमै रहेको स्थानियवासीहरु बताउछन् । सेतीनदी किनारको अधिकांश बस्ती र जमिन पनि बाढीको उच्च जोखिममा रहेको छ ।

त्यस्तै यहाँका ग्रामिण क्षेत्रमा वर्षातको मौसम शुरु भए संगै जिल्लाको सायल गाउँपालिका वडानंं ४ बावनसेनका बासिन्दालाई चारवर्ष अगाढीको कहाली लाग्दो रातको सम्झनाले तर्साउने गर्दछ ।

बिसं २०७२ साउन २३ गते आएको भिषण वर्षादका कारण सायल गाउँपालिका वाडन. ४ बावनसेनमा एकै परिवारका ५ जना सहित ६ जनाको ज्यान जानुका साथै उक्त क्षेत्रका सयौ रोपनी खेतीयोग्य जमिन,पशुचौपाया बाढीले बगायो ।

सायल गाउँपालिका वडान. ४ मात्रै होईन यस अगाडीका वर्षहरुमा भएका प्रकोपका घटनाहरुका आधारमा यस वर्ष मनसुन शुरु हुनु अगावै जिल्लामा दैबी प्रकोप पुर्व तयारीलाई पुर्णता दिईएको छ । सम्भावित दैबी प्रकोपका घटनाहरुलाई मध्यनजर गर्दै जिल्लामा बिपत पुर्व तयारीका बिभिन्न कार्यहरु गरिएका छन् ।

जिल्लाको बिपत प्रतिकार्य योजना अध्यावधिक गरिनुका साथै स्थानीय समुदाय, सेना, प्रहरी, शसस्त्र प्रहरी तथा बिभिन्न संघ संस्थालाई सम्भावित प्रकोप भईहाले उद्दारमा जुट्नका लागि तयारी अवस्थामा राखिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनसुन शुरु भैसकेको त छैन, तर हामीले स्थानीयस्तर देखि जिल्ला स्तर सम्म बिपत ब्यबस्थापन समितिलाई पर्याप्त मात्रामा आबश्यक सामाग्री प्रदान गरिसकेका छौँ,बिपद आईपरे समाधान गर्न तयारी अवस्थामा छौँ ।”

जिल्लाका बिभिन्न २२ वटा स्थानहरुलाई दैबी प्रकोपको हिसावले उच्च जोखिममा राखिएको छ । जोखिम रहेका स्थानहरुको पहिचानको आधारमा बिभिन्न संघ संस्थाहरुले उक्त क्षेत्रमा कार्य गरिरहेका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोटीले बिपत प्रतिकार्यका लागि सामुदायिक पहल (क्याड्रे) कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्लामा पहिचान भएका बिभिन्न २२ वटा प्रकोपको उच्च जोखिम भएका समुदायमा प्रति समुदायमा १२ ब्यक्तिहरुलाई उद्दारकर्ताको तालिम र आबश्यक सामाग्री दिई आधारभुत खोज तथा उद्धार सामाग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाईटी सुदूरपश्चिम प्रदेश महासंघका महासचिव देवबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै प्रकोप भैहाले पहिलो उद्दारकर्ताको रुपमा काम गर्न जिल्लाका नौ वटै स्थानीयतहका जोखिम युक्त समुदायका व्यक्तिहरुलाई तालिम दिई परिचालन गरिएको छ,बिपद परिहाले हामी तत्काल खटिने छौँ ।”

जिल्लाको कति प्रतिशत भु भाग पहिरोको उच्च जोखिममा छ भन्ने एकिन तथ्यांङ्क कसै संङ्गपनि छैन ।

उच्च पहाडी भाग तथा यस अघि हुदै आएका दैबी प्रकोपका घटनाहरुको आधारमा जोखिम युक्त स्थानको पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । डोटीमा बाढी पहिरोमा परी चालु आर्थिक वर्षमा मात्रै ९ जनाको ज्यान गईसकेको छ ।