जनताको सवेंदनामाथि ठट्टा नगर्न सरकारलाई कांग्रेस नेताको चेतावनी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदम्बेले जनताको संबेदनामाथि ठट्टा नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आज आयोजना गरेको नेपाली कांग्रेसका पुर्व सभापति एबं शान्ति प्रकृयाका अग्रणी नेता गिरीजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा आयोजित बिचार गोष्ठीमा बोल्दै उहाँले सरकारले नै जनआन्दोलनका उपलब्धिमाथि प्रश्न उठाउन थालेको बताउनुभयो ।

उहाँले जनताले सत्तामा पठाएको नेकपा नेतृत्वको सरकारले जनताको चाहना अनुरुप काम गर्नुपर्ने र जनताको पक्षमा काम नगरे दबाब सृजना गर्नुपर्ने उहाँको भनाई छ । सरकारलाई खाली सस्ता प्रहसन र खोक्रा भाषण नगर्न सचेत गराउनुभयो ।

केन्द्रीय अनुशासन समितिका संयोजक समेत रहेका नेता आङदम्बेले सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताउँदै सरकारको गतिविधि संघियता विरोधी भएको बताउनुभयो ।मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको दाबी गर्दै उहाँले सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न नसकेको दाबी गर्नुभयो ।

शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएको उहाँको भनाई थियो ।उहाँले कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तै अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने भएकाले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्नेमा जोड दिनु भयो । उहाँले नेता तथा कार्यकर्ता अनुशासित भई कांग्रेस एकतावद्ध भएर अघि बढे मुलुकको ठूलो दल बन्ने दाबी गर्दै त्यसका लागि कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

नेता आङदम्बेले काँग्रेस आफै भित्र रहेको कलहबाट बाहिर निस्केर बदलिनु र सुध्रिनु पर्ने बेला आएको बताउदै उहाँले जनतालाई काँग्रेसले विश्वास र भरोसा दिलाउनु पर्ने बताउनुभयो । कांग्रेसले प्रजातन्त्रको ब्यबहारिक कार्यान्वय नगरेको देखेर नै गत निर्वाचनमा जनताले कम्युनिष्टलाई जिताएको उहाँको भनाई थियो ।उहाँले स्व.कोईराला शान्ति र क्रान्तिका नायक रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जनताको चाहना अनुरुप सरकारलाई काम गर्न दबाब दिन आवश्यक भएको बताउनुभयो ।गिरीजा प्रसाद कोईरालाको योगदानको चर्चा गर्दै अहिले पनि मुलुक र कांगे्रसका लागि शान्ति,सहकार्य र एकताको खाँचो रहेको बताउनुभयो ।सभापति थापाले अहिले खेतका गरागरामा फल्नु पर्ने धान नेताका गलामा फल्न थालेको भन्दै ब्यङग गर्नुभयो ।

कार्यक्रममा कांग्रेस भक्तपुरका पुर्व सभापति तिलक कायस्थ,तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष बिनोद कायस्थ,पार्टी सचिब निशान ढुंगेल,क्षेत्र नम्बर १ का सभापति जीवन खत्री,२ का सभापति नारायण खायमली लगायतले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले गरेका योगदानको चर्चा गर्दै पार्टी एक ठिक्का भएर सरकारका गलत कृयाकलापका प्रतिरोध गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।