काठमाडौंमा बिजुली बसका लागि प्रदेशको ३० करोड


हेटौंडा ।
प्रदेशमा पर्ने काठमाडौं उपत्यकामा बिजुली बस सञ्चालन गर्ने सहमतिसहित प्रदेश–३ सरकारले सोमबार काठमाडौंमा साझा यातायातलाई ३० करोड रुपियाँ हस्तान्तरण गरेको छ ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै विद्युतीय बस खरिदका लागि प्रदेश सरकारले साझालाई ३० करोड रुपियाँ हस्तान्तरण गरेको हो । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले २ करोड ५० लाख रुपियाँका दरले लगानी गर्नेछन् । प्रदेश–३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रदेशका योजना मन्त्री कैलाश ढुंगेल, काठमाडौं र ललितपुरका मेयर क्रमशः विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जन तथा साझाका अध्यक्ष कनकमणि दीक्षितबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । इन्धनबाट चल्ने भन्दा विद्युतीय बस सस्तो हुने भएका कारण यसमा ध्यान दिनुपर्ने उहाँले औंल्याउनुभयो । इन्धनका हिसाबले ५ गुणा सस्तो पर्ने र प्रदुषण कम गर्ने भएकाले विद्युतीय गाडी प्रयोग राम्रो देखिने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रदेश सरकारले १० वर्षभित्र इन्धनबाट सञ्चालन हुने सवारीसाधन बिस्थापित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार नमूनाका रुपमा विद्युतीय बस खरिद गरी साझा यातायातसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

पेट्रोलियमबाट चल्ने सवारीसाधन बिस्थापित गर्ने घोषणा गरेको प्रदेश–३ सरकारका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका मुख्यमन्त्रीमध्ये पहिलोपटक विद्युतीय कार चढ्नुभएको छ । यसको सकारात्मक सन्देश र सफलतापछि प्रदेश सरकारले ३० करोड रुपियाँ खर्चेर विद्युतीय बस खरिद गरी आफ्नो क्षेत्रमा इन्धनबाट चल्ने सवारी बिस्थापन गर्ने तयारी गरेको हो ।

कुल करिब ४० करोड रुपियाँको विद्युतीय बस खरिद गरेर साझा यातायातसँगको सहकार्यमा सञ्चालनमा ल्याइने भएको छ । प्रदेशका मुख्यमन्त्री डारमणि पौडेल, काठमाडौं महानगर मेयर शाक्य र साझा यातायात अध्यक्ष दीक्षितसहित हेटौंडामा सरोकारवालाको बैठक बसेर विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने निष्कर्षमा पुगिएको थियो ।

यस वर्ष १५ देखि २५ वटासम्म बस खरिद गर्ने योजना प्रदेश सरकारको छ । लामो रुटमा चल्ने बसमा चार्जिङ स्टेसन राखेर विद्युतीय बस सञ्चालन गरिने बताउँदै मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकामा प्रदेश सरकारको उपस्थिति जनाउन त्यहाँ बस सञ्चालन गरिने बताउनुभयो ।

नेपालमा मोटर उत्पादन नहुने, छिमेकी भारत र चीन दुवैले विद्युतीय गाडी अनिवार्य गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने मोटर उत्पादन बन्द गर्ने ठूला कम्पनीको घोषणाले पनि नेपाललाई विद्युतीय गाडीमा जानुपर्ने बाध्यता छ । नेपालका लागि विद्युतीय सवारी नयाँ होइन, तर प्रविधि नयाँ हो । ट्रली बस काठमाडौंमा चलेकै हो ।

नेपालका विद्युतीय गाडीको प्रयोग उपयुक्त र बाध्यता दुवै बन्दैछ । बढ्दो विद्युत् उत्पादन र व्यवस्थापनको चुनौतीका अगाडि विद्युतीय मोटरको प्रयोग नयाँ अवसर हो । विद्युतीय गाडी प्रयोग वृद्धिले असन्तुलित वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउन सहयोग गर्छ ।
मुलुकमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने लहर चल्न थालेको छ । सरकारले विद्युतीय सवारी प्रवद्र्धनको नीति लिएसँगै यसको प्रयोग बढेको हो । विद्युतीय गाडीमा चार्जिङको समस्या समाधान गर्न काठमाडौं उपत्यकाभित्र २० स्थानमा चार्जिङ स्टेसन निर्माण गरिँदैछ भने प्रदेश सरकारले चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवन राजपथका विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ ।

प्रदेश–३ सरकारले चीनमा निर्मित बीवाईडी कम्पनीको विद्युतीय कार खरिद गरेको छ । उक्त कार दुई घण्टा चार्ज गरेपछि ४ सय किलोमिटरसम्म चल्ने बताइएको छ । ३ सय १७ भोल्ट क्षमताको कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मतमात्र गरे पुग्ने बताइएको छ ।
पेट्रोल र डिजेलको कार÷जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको कारको मूल्य ५५ लाख परेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।