एउटै वडाबाट पचास लाखको लसुन एकै दिनमा बिक्री

0
Shares

धनवीर दाहाल,रुकुम । गाँउमा सडक पुगेपछि एकै दिनमा करिव पचास लाखको लसुन बिक्री भएको छ । लसुनको पकेट क्षेत्र मानिएको रुकुम पश्चिम स्थित मुसिकोट नगरपालिका वडा नं १० मा सडक पुगेपछि एकै दिन एउटा वडाबाट ६० क्विन्टल असुन बिक्री भएको हो । लसुन उत्पादन हुने गरेपनि सडक अभावका कारण गाउँमै थन्केर रहेको सडक पुगेपछि निर्यात भएको वडा नं १० का वडा सदस्य धनबहादुर खड्काले बताउनुभयो ।

होल्तारा–भेरीखोला–बैरामुल कृषि सडक निर्माण भएर गाउँमा पहिलो पटक सडक पुगेपछि लसुनले बजार पाउन थालेको खड्काले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ४० लाख रुपैयाँ अनुदानमा सडक निर्माण भएको हो । सडक गाउँमै पुगेको दिन वडा १० का विभिन्न टोलमा उत्पादन भएको ६० क्विन्टल लसुन बिक्री भएको हो ।

गाउँमा राम्रो लसुन उत्पादन हुने गरेपनि भौगोलीक विकट्ताका कारण व्यापारीहरु नआउँदा उत्पादन भएको लसुन पनि घरमै थन्कीने गरेको भएपनि सडक पुगेकै दिन ठुलो परिणाममा बाहिर निर्यात भएको छ । किसानहरुले उत्पादन गरेको लसुन गाउँबाटै प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री भएको किसानहरुले बताएका छन् । गाउँसम्म सडक पुगेको थाहा पाएपछि व्यापारीले लसुन उठाउन गाडी ल्याएर गाउँमा आएका थिए ।

पहिलोपटक बनेको कृषि सडकले कृषि उपज सामाग्रीलाई बजारमा पुर्याउन सफल भएको वडा सदस्य खडकाको भनाई छ । राम्रो लसुन उत्पादन हुने भएकाले किसानलाई व्यावसायिक लसुन उत्पादनमा सक्रिय बनाउँनको लागि वडा कार्यालयबाट बजेट विनियोजन समेत गरिएको वडा सदस्य खड्काले बताउनुभयो ।

किसानलाई आवश्यक तालिम तथा लसुनको बीउको खरिदमा सहयोग गर्नको लागि आगामी आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ विनियोजन गर्न तयारी रहेको उहाँले जानकारी दिनुभयो । यो वडाका विभिन्न टोलबाट पाँच सय क्विन्टल भन्दा बढि लसुन उत्पादन गर्ने वडा कार्यालयको लक्ष्य रहेको छ ।